(धु्रबसागर शर्म)
गत पुस २४ गते म्याग्दीको बेनी नगरपालिका वडा नं ४ बगरफाँटका ४६ वर्षिय हर्कबहादुर थापाको ट्याक्टर दुर्घटनाका कारण मृत्यु भयो । थापाको मृत्युले गाउँ शोकाकुल बन्यो । अत्यन्त सहयोगी र सामाजिक कार्यमा अगुवाई गर्ने व्यक्तिको अल्पायुमा नै दुर्घटनामा परी मृत्यु भएपछि धेरैका आँखा रसाए ।

भकिम्ली गाविसको हल्लेगौंडामा ट्याक्टर दुर्घटना भएपछि घाइते भएका थापालाई उपचारका लागि पोखरा लैजादै गर्दा बाटोमा नै मृत्यु भएपछि उनको शवलाई जिल्ला अस्पताल म्याग्दीमा पोष्टमार्टम गरी एक रात अस्पतालमा र एक रात घरमा राखियो । तेस्रो दिनमात्र उनको अन्त्येष्टि गरियो ।
तेस्रो दिन पछिमात्र अन्तेष्टी गर्नुको कारण थियो अध्ययन र बैदेशिक रोजगारीका लागि जापान गएका स्वर्गिय थापाका छोराको पखाई । तेस्रो दिन मात्र स्व.थापाका छोरा सुनिल थापा जापानबाट घरमा आए र बुबाको शबमा दागबत्ति दिए ।

स्व. थापाका छोरा सुनिल र छोरी सुजाता दुबै जना जापानमा थिए । बुबाको मृत्युको खबर पाएपछि दाजु सुनिलसंगै बहिनी सुजाता पनि घरमा आउन चाहेकी थिइन् तर पढ्ने कलेज र काम गर्ने ठाउँमा विदा मिलाउनु पर्ने समस्याले उनलाई एक दिन ढिला भयो ।अन्तिम पटक आफ्ना बुबाको मुख हेर्ने उत्कट इच्छा हुँदाहुँदै पनि सुजाताले बुबाको मुख हेर्न पाइनन् र अन्तेष्टिमा सहभागि हुन पनि पाइनन् ।

जापानदेखि अन्तिम पटक बु्बाको मुख हेर्ने चाहनाका साथ घरमा आएकी सुजाता निराश र अत्यन्त दुःखी भइन् । त्यतिमात्र होइन बुबाको किरिया समेत बस्न दिइएन सुजातालाई । छोराको पर्खाइमा तीन दिनसम्म शबलाई कुरेर बस्न सक्ने समाजले छोरीका लागि अरु एक दिन पर्खन सकेन र हतारहतार अन्तेष्टि संस्कार सम्पन्न ग¥यो । एउटै बुबाका दुई सन्तान, दुबैजना जापानमा,उत्तिकै कमाई , पारिवारिक दायित्व र जिम्मेवारी पनि समानरुपले बहन गरिरहेका थिए ।

जापानबाट एकदिन अघिपछि गरेर दुबैजना घरमा आए । तर छोरा भएकै कारण सुनिलले बुबाको मुख हेर्न र अन्तेष्टिमा सहभागि हुन पाए भने छोरी भएकै कारण एक दिन ढिलो गरी घरमा आएकी सुजाताले बुबाको मुख हेर्न,अन्तेष्टीमा सहभागि हुन र किरिया बस्न समेत पाइनन् । छोरा नआई अन्तेष्टि गर्नु हुँदैन भनेर तीन दिनसम्म पर्खन सक्ने समाजका बुद्धिजीवि र अगुवाहरुले एक दिन पछि आउने छोरीको बारेमा थाहा नपाएका होइनन् । तर, छोरीले दागवत्ति दिन र किरिया बस्न नपर्ने भन्दै उनलाई पर्खन आवश्यक ठानिएन र अन्तेष्टि गरियो ।

त्यस्तै सदरमुकाम बेनीबजारसंगैको म्याग्दी नदी किनारमा ढुङ्गा,बालुवा संकलन गर्ने काम गर्छिन म्याग्दीको मरेक घरभई ज्याला मजदुरीका लागि बेनीमा बस्दै आएकी युदेबी विक । दैनिक ज्यालादारीमा काम गर्ने विकले दिनभरी काम गर्दा ३ सय ५० रुपैयाँ पाउँछिन् । पुरुष मजदुरहरुसंगै काम गर्ने विकले पुरुषहरुले भन्दा बढी ढुङ्गा बालुवा संकलन गर्छिन् । तर ज्याला भने पुरुष मजदुरले भन्दा २ सय रुपैयाँ कम पाउँछिन् । पुरुषले ५ सय ५० रुपैयाँ पाउँछन्।
gender-equality-555x335
त्यसैगरी घर निर्माणको काममा मजदुरी गर्ने तिर्था किसानले पनि पुरुष मजदुरसंगै एउटै काममा मजदुरी गर्छिन् । ढुङ्गा,सिमेन्ट र छड बोक्ने, मिस्त्रीलाई चाहिएको सामान पु¥याउने सहयोगी (हेल्फर) को काम गर्ने किसानले ४ सय रुपैयाँ ज्याला पाउँछिन भने उही काम गर्ने पुरुष मजदुरले ६ सय रुपैयाँ पाउँछन् ।

माथि उल्लेख गरिएका पात्रहरु प्रतिनिधिमूलक पात्रहरु मात्र हुन् । यस्ता धेरै पात्र र क्षेत्रहरुछन् जहाँ प्रत्यक्ष वा अप्रत्यक्षरुपमा लैङ्गिक विभेद र हिंसा हुने गरेको छ । धर्मशास्त्रमा ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारी (महिला)हरुको पूजा हुन्छ,उनीहरुलाई आदर र सम्मान गरिन्छ,त्यहाँ देबता पनि खुसी हुन्छन् भनेर बताइएको भएपनि समाजमा कमजोर ठानिने र कम महत्वका साथ हेरिने गरिएको कारण लैङ्कि विभेदले प्रश्रय पाएको जानकारहरुले बताउँछन् ।

कृषि क्षेत्रमा मजदुरी गर्नेदेखि लिएर निर्माण तथा उद्योगका क्षेत्रमा मजदुरी गर्ने, निजी शिक्षण र वित्तिय लगाएतका संस्थाहरुमा नोकरी गर्ने, सामाजिक,धार्मिक र संस्कारगत कार्यहरुमा अगुवाई गर्ने देखि लिएर विभिन्न क्षेत्रहरुमा प्रतिनिधित्व गर्ने कुराहरुमा समेत लैङ्गिक विभेद हुनेगरेको महिला अधिकारकर्मी एवम् म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मीले बताउनुभयो ।

‘समानता,समावेशिता र समान सहभागिताका जतिनै कुरा गरिएपनि व्यवहारमा लागु हुन सकेको छैन’ सहायक क्याम्पस प्रमुख रेग्मीले भन्नुभयो ‘समाजका अगुवाहरुमा रहेको पूर्वाग्रही सोंच र संस्कारगत अहम्का कारण लैङ्कि विभेद समाजमा कायमै रहेको हो ।’त्यसैगरी महिला तथा बालबालिका कार्यालयका प्रमुख निर्मला शर्माले धर्मको आड लिएर पण्डित र पुरोहितहरुले जन्मसंस्कारदेखि मृत्यु संस्कारसम्म छोरीको संलग्नतालाई आवश्यक नठानेका कारण परम्पराको रुपमा लैङ्गिक विभेदले समाजमा स्थान पाउँदै आएको बताउनुभयो ।

‘न्वारान(नामाकरण) विवाह र मृत्यु संस्कारमा बुबा अथवा छोराले नै महत्व पाउँछ,आँफूले जन्माएको शिशुको न्वारानमा कर्ता बनेर आमाले संस्कार सम्पन्न गर्न पाउँदिनन्, विवाहमा आमाले छोरीको कन्यादान गर्न पाउँदिनन् र बुबा आमाको मृत्यु हुँदा छोरीले छोराको जस्तो संस्कार कर्म गर्न पाउँदैनन, विभेद यहीबाट सुरु भएको छ’ अधिकृत शर्माले भन्नुभयो ‘र,यसको अन्त्यका लागि पनि धार्मिक सम्प्रदाय,समाजका अगुवा र बुद्धिजीविहरुले नै साहस गर्नुपर्दछ ।’ समाजमा जान्ने बुझ्ने ठानिएका,बौद्धिक र सामाजिक प्रतिष्ठा प्राप्त गरेका व्यक्तिहरुबाट नै पहल नहोउन्जेलसम्म लैङ्गिक विभेदको अन्त्य हुन नसक्ने

अर्जुन माविका शिक्षक नविन घिमिरेले बताउनुभयो । ‘बुबाको मृत्युमा शोक गर्ने, आशौच बार्ने र जिम्मेवारी बहन गर्ने कार्यमा समेत छोरा र छोरीको बीचमा विभेद गरिन्छ भने लैङ्गिक विभेदको अन्त्य कसरी हुनसक्छ र ?’ घिमिरेले भन्नुभयो ‘हामी पढेलेखेका र जान्ने बुझ्नेहरुबाट नै लैङ्गिक विभेद र हिंसाजन्य गतिविधिहरुलाई प्रोत्साहित गरिएको छ ।’

यसरी श्रमदेखि संस्कारसम्म कायम रहेको लैङ्गिक विभेद समाजमा बलियो गरी प्रभाव जमाउन सफल भएको महिला अधिकारकर्मीहरुको भनाइ रहेको छ । महिला अधिकारकर्मी र कानुनले मात्र लैङ्गिक विभेदको अन्त्य गर्न नसक्ने बताउँदै म्याग्दीकी महिला अधिकारकर्मी अमृत बानियाँले धार्मिक परम्परा,अन्धविश्वास,सामाजिक कुरीतिजस्ता कारणहरुले गर्दा लैङ्गिक विभेद र हिंसा हुने गरेका छन् भन्नुभयो ।

कानुनमा लैङ्गिक विभेद र महिला हिंसालाई दण्डनीय भनेपनि व्यवहारमा त्यो लागु हुन सकेको छैन । महिलालाई घरेलु,सामाजिक,साँस्कृतिक,धार्मिक वा कानुनी कुनै पनि दृष्टिकोणले विभेद गर्नु,शारिरिक,मानसिक वा श्रम शोषण गर्नु, अन्यायमा परेकालाई पारिवारिक वा सामाजिक मानप्रतिष्ठा र इज्जतको नाममा जवरजस्ती मिलापत्र गर्न बाध्य पार्नु पाप र अक्षम्य अपराध भएको राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि वास्कोटाले बताउनुभयो ।

छोरा जन्मदा हर्षबढाइका साथ भोजभतेर गर्ने छोरी जन्मदा सुत्केरी आमा र नवजात शिशुलाई समेत कुनै वास्ता नगर्ने सामाजिक चलनमा पछिल्लो समय चेतनास्तरमा बृद्धि र लोकलाजका कारणले पनि केही परिवर्तन आएको भएपनि श्रमदेखि संस्कारसम्म लैङ्गिक विभेद भने कायमै रहेको छ । शारिरिक श्रमको ज्यालादेखि लिएर बौद्धिक श्रमको पारिश्रमिकसम्म, जन्मदा गरिने नामाकरण संस्कार (न्वारान) देखि लिएर मृत्यु हुँदा गरिने अन्तिम संस्कारसम्म, घरगाउँमा हुने मांगलिक कार्यदेखि लिएर शहरबजारमा हुने सभा सेमिनार लगाएतका कार्यक्रमहरुसम्म कुनै न कुनै रुपमा लैङ्गिक विभेद कामय नै रहेको छ ।

राजनीतिक दलहरुले आ–आफ्नो दलमा महिलालाई ३३ प्रतिशत भन्दा बढि स्थान दिने बताए पनि त्यो केवल घोषणापत्रमा नै सीमित रहेको छ । देशमा अहिले राष्ट्रपति,सभामुख,प्रधानन्यायाधिसदेखि लिएर कार्यकारी प्रमुखको भूमिकामा महिलाहरु नै रहेको अवस्थामा पनि लैङ्गिक विभेद कायमै रहनु दुर्भाग्यपूर्ण भएको सर्वसाधारणले बताएका छन् । लैङ्गिक विभेदको अन्त्य निकै चुनौतिपूर्ण भएपनि असम्भव भने नभएको अधिकारकर्मी,बुद्धिजीविदेखि लिएर सर्वसाधारणसम्मको भनाइ रहेको छ ।