अनेरास्ववियु म्याग्दीको १९औं अधिवेशनको तयारी तीब्र

0
213

नेकपा एमालेनिकट विद्यार्थीहरुको सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) म्याग्दीको १९औं जिल्ला अधिवेशनको तयारी तीब्र भएको छ । आसन्न अधिवेशन नजिकिँदै गर्दा तयारीलाई तिब्रता दिइएको अनेरास्ववियु म्याग्दीले जनाएको छ ।

हालसम्म कमिटी गठन, प्रचारप्रसार, आर्थिक सङ्कलनलगायतका कामहरुलाई तीब्र पारिएको अधिवेशन आयोजक कमिटीका सचिव सावित्री केसीले बताइन् । उनका अनुसार अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि आर्थिक तथा प्रचारप्रसार, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, अतिथि सत्कार, आवास व्यवस्थापनलगायतका उपसमितिहरु गठन गरी कामलाई तीब्र पारिएको छ ।

जिल्लामा सञ्चालित क्याम्पस, उच्च मावि र माविसहित ३० भन्दाबढी विद्यालयहरुबाट अधिवेशनमा विद्यार्थीहरु सहभागी गराइने सचिव केसीको भनाई छ । अधिवेशनको उद्घाटन सत्रमा झण्डै १ हजार बढी विद्यार्थी, पार्टीका नेता कार्यकर्ता, शुभेच्छुकलगायतको सहभागीता रहने अनेरास्ववियुले जानकारी दिएको छ । यसैगरी अधिवेशनको बन्दसत्रमा करिब ३ जना प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी हुने भएका छन् ।

सदरमुकाम बेनीको आवारोडमा हुने अधिवेशनको नेकपा एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसैगरी उद्घाटन सत्रलाई अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष सुनिता बराल, प्रदेश नम्बर ४ का इन्चार्ज आरसी लामिछाने, सचिवालय सदस्य एवं महिला विभाग प्रमुख सम्झना अधिकारी, केन्द्रीय सदस्य प्रकाश पौडेल, नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, सांसदद्वय नवराज शर्मा, नरदेवी पुनलगायतले सम्बोधन गर्ने भएका छन्।

कार्यक्रमको अवसरमा अनेरास्ववियु म्याग्दीद्वारा प्रकाशित ‘अखिल आवाज’को समेत विमोचन गरिने भएको छ । उक्त कार्यक्रममा विद्यार्थीहरुले झाँकीसहितको ¥याली प्रदर्शन, जनवादी गीतसङ्गीत र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने अधिवेशन आयोजक कमिटीका संयोजक सुवास विश्वकर्माले बताए । अधिवेशनबाट अनेरास्ववियु म्याग्दीको नयाँ नेतृत्व चयन गरिनेछ भने विद्यार्थी नेताहरु आ–आफ्नो उम्मेदवारीको दावीसहित अधिवेशनको तयारीमा जुटेका छन् ।