गाउँमा हुने विवाद समाधान गर्न महिलाहरुले प्रहरी चौकी जान निषेध गरेको छभन्दा पत्याउन गाह्रो पर्ला । तर म्याग्दी जिल्लाको बेनी नगरपालिका ४ बगरफाँटका महिलाहरुले गाउँमा कुनै विवाद भए त्यसलाई समाधान गर्न प्रहरी चौकी जान नपर्ने गरी गाउँका समस्या र झैझगडाहरु गाउँमा नै मिलाउने गरेका छन् ।

गाउँघरमा कुनै विवाद भएमा त्यसलाई स्थानीयस्तरमा रहेको जनचेतना महिला मध्यस्थता समितिले नै समाधान गर्ने गरेकाले महिलाहरुलाई प्रहरी चौकी जानबाट रोकिएको समितिकी सदस्य तीलकुमारी कार्कीले वताउनुभयो । गाउँकै महिला मध्यस्थता समितिमा विवाद समाधान भएपछि त्यसले खर्च जोगाउनुका साथै समय पनि खेर नजाने मध्यस्थता समितिकी कल्पना केसीको भनाइ छ ।

मध्यस्थता समितिले गाउँमै विवाद समाधान गर्न थालेपछि एकातिर महिलाहरुको महत्व बढेको छ भने अर्कोतिर महिलाहरुमा निर्णय क्षेमताको पनि विकास हुनुका साथै सामाजिक न्यायको भावनामा बृद्धि हुन थालेको स्थानीय वासिन्दाहरुको भनाइ रहेको छ ।

२०६९ सालमा स्थापना भएको जनचेतना महिला मध्यस्थता समितिले हालसम्म ७९ वटा झैझगडा,५ वटा कुटपिट र गाली वेइज्जेतीका घटना, ३४ वटा श्रमदान र सामाजिक कामको विषयमा उत्पन्न भएका विवाद र ४२ वटा घरायसी विवादहरु मिलाएको समितिका अध्यक्ष गैमती कार्कीले जानकारी दिनुभएको छ । रासस