नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गर्नुभएको छ । प्रेस चौतारी म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरी तयारीमा लाग्नुपर्ने बताउनुभएको हो ।
IMG_0014(3)
सचिव ज्ञवालीले संविधान कार्यान्वयनका लागि संविधान संशोधनभन्दा निर्वाचन गर्नुपर्ने आवश्यक रहेको बताउँदै आउँदो जेठ पहिलो साता स्थानीय तहको निर्वाचन हुनेगरी निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभयो । उहाँले सरकार निर्वाचन गराउनुको साटो आवश्यक नभएको विषय संविधान संशोधनमा अल्झिएर उल्टो बाटोतर्फ लागिरहेको आरोप समेत लगाउनुभयो ।

आगामी माघ महिनाभित्र तीनवटा निर्वाचन गर्नुपर्ने भएको हुँदा जेठमा स्थानीय निकायको निर्वाचन सम्पन्न गरिसकेपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउनेतर्फ सरकार गम्भीर ढङ्गले लाग्नुपर्ने उहाँको भनाई छ । एमाले नेता ज्ञवालीले निर्वाचनको लागि आवश्यक पर्ने निर्वाचन कानुहरु निर्माण र स्थानीय तह पुनर्संरचना आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।
IMG_0011(3)
उहाँले मुलुकमा संविधानलाई असफल बनाएर निर्वाचन गराउन नदिने तत्वहरु सक्रियतापूर्वक लागिपरेको भन्दै सबै दलहरु गम्भीर रुपमा निर्वाचनमा लाग्नुपर्ने बताउनुभएको छ । सचिव ज्ञवालीले अदालतले समेत प्रदेशको सीमा हेरफेर गर्ने अधिकार प्रदेश सभालाई मात्रै भएको भनी फैसला गरिसकेको अवस्थामा अब सरकारले संसदमा पेश गरेको संविधान संशोधनको प्रस्ताव स्थगित गरेर निर्वाचनका विद्येयकलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

संविधान संशोधनको बाहनामा देशलाई बिखण्डन र सामाजिक सद्भाव खल्बलाउने प्रयास भैरहेको बताउँदै सचिव ज्ञवालीले राष्ट्रिय र सामाजिक एकता कायम गर्न एमालेले मेची–महाकाली अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले अनुचित तवरले संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव कुनै पनि हालतमा पारित नहुने र हुनै नदिने बताउनुभएको छ ।

कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, सांसदद्वय नवराज शर्मा, नरदेवी पुन, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष सुनिता बराललगायतको सहभागीता रहेको थिया । कार्यक्रम प्रेस चौतारी म्याग्दीका अध्यक्ष मालती खत्रीको अध्यक्षता र सहसचिव कमल बानियाँको स्वागतमा सम्पन्न भएको थियो ।