(धु्रवसागर शर्मा)

बिगत १८्र वर्षदेखिको विज्ञान सम्वन्धि खोज, अध्ययनअनुसन्धान, विश्लेषण गर्दै आउनु भएका युवा वैज्ञानिक भविन्द्र कुवँरको भौतिक शास्त्र सम्वन्धि खोज ‘दुर्यान्तर’ भौतिक शास्त्र पुनर्निमाण अभियान र काठकाण्डौं रिचर्स एण्ड पब्लिकेशनले प्रमाणित गरिदिएको छ ।

म्याग्दीको बेनी नगरपालिका वडा नं ३ फापरखेतमा जन्मिनुभएका कुँवरले विगत १८ वर्षदेखि भौतिक विज्ञानमा नित्तान्त नवीन र उपयोगी परिमाणको अस्तित्व सम्वन्धि खोज र अनुसन्धानहरु गर्दै आउनुभएको थियो ।

भौतिक विज्ञानमा ‘दुर्यान्तर’ नामक एक परिमाणले युगौँदेखि भूमिका निर्वाह गर्दै आएको तर उक्त परिमाण र त्यसको भूमिकाको पहिचान हुन छुटेको निष्कर्ष नेपालमा हालै सम्पन्न भएको एक परीक्षण र सम्बन्धित अनुसन्धानबाट निकालिएको थियो । वर्षौँदेखि बारम्बार प्रदर्शन गरिँदै आएका केही परीक्षणहरु र ‘एसएटिएम–१’ को सहायताले गरिएका पछिल्ला आखिरी जाँचहरु तथा बाह्र दिन लगाएर गरिएका पुनर्जाँचहरुको निष्कर्षपछि उक्त भौतिक शास्त्रीय परिमाणको अस्तित्वको प्रमाणित भएको भौतिक शास्त्र पुनर्निमाण अभियानका केन्द्रिय अध्यक्ष समेत रहनुभएका कुँवरले जानकारी दिनुभयो ।

कुँवरका अनुसार ‘दुर्यान्तर’ कुनै यन्त्रउपकरणका आविष्कार होइन तर नवीन र उपयोगी भौतिक शास्त्रीय परिमाण भने अवश्य हो । यसलाई एउटा नित्तान्त नयाँ डिस्कभरी वा पहिल्याइ भनेर बुझ्न सकिन्छ । यसको उपयोगिता भौतिक विज्ञान र गणितका क्षेत्रमा बढी हुन्छ ।

यस यन्त्रको सहायताले कुनै एक विन्दुबाट अर्को विन्दुसम्मको दुरी पत्ता लगाउने र शक्ति र समयको वारेमा जानकारी पाउन सकिन्छ । ‘सुव्रत’को मान्यताको आधारका रुपमा पनि यस परिमाणले अभिन्न र अपरिहार्य भूमिका निर्वाह गर्दछ, खोजकर्ता भविन्द्र कुँवरले जानकारी गराउनुभयो । कुँवरका अनुसार, ‘दुर्यान्तर’ अन्तर तहमा रहेर सधैँ भूमिका निर्वाह गर्दै आएको तर पत्ता नलागेको एउटा भौतिक शास्त्रीय परिमाण थियो । भौतिक शास्त्रको इतिहास, पाठ्यपुस्तकहरु र प्रयोगहरुमा यसलाई कतै पनि वर्णन, विश्लेषण र अनुप्रयोग गरिएको पाइँदैन । तर उक्त परिमाण लगानी भएको बलसँग अनुक्रमानुपातिक सम्बन्ध राख्ने गरेको पाइयो ।

दुर्यान्तरको मात्रा र संख्याले पिण्डजसरी नै बल वा शक्तिसँग अनुक्रमानुपातिक वा समानुपातिक सम्बन्ध राख्ने र समयान्तरालको मात्राले बलसँग व्युत्क्रमानुपातिक सम्बन्ध राख्ने कुरा ‘एसएटिएम–१’ को सहाराबाट जाँच गर्दा देखिन गएको हो । ‘दुर्यान्तर’ पत्ता लागेपछि भौतिक शास्त्रमा बढ्दो गतिमा रहेको कुनै वस्तुको गन्तव्य, सम्बन्धित अवधि, गन्तव्यको विन्दुमा रहने आखिरी गति आदि परिमाणहरुको पूर्वानुमान वा भविष्यवाणी ठ्याक्कै मिल्नेछ । जबकि हालसम्मका संसारभरि प्रचलित कुनै पनि भौतिक शास्त्रीय सूत्र तथा नियमहरुले यी कुराहरुको पूर्वानुमानको सही भविष्यवाणी गर्न सकेका छैनन् भौतिक शास्त्र पुनर्निर्माण अभियानको पेजमा उल्लेख छ ।
16237365_1281524438560299_391597181_n
आइज्याक न्युटनले स्याउ खसेको धेरै समयपछि उक्त आकर्षण बललाई ‘गुरुत्वाकर्षण बल’ भनी नाम दिएझैँ ‘दुर्यान्तर’का विषयमा अर्थपूर्ण नाम नजानेरै भए पनि विगत १८ वर्षदेखि चासो रहेको र केही समयपछिमात्र यसको नाम दिइएको कुँवरले जानकारी दिनुभयो । यस क्रममा पुस्तकालयहरु, पाठ्यपुस्तकहरु, अनुसन्धानपत्रहरु, इन्टरनेट आदिको प्रयोग गरी खोजी र अनुसन्धान गर्ने कार्य भएको कुँवरले बताउनुभयो ।

‘प्रवचन तथा अन्तक्रिर्याहरु पनि भए । तर आजसम्म कहिँकतै यससम्बन्धी अध्ययन–अनुसन्धान गरेको पाइएन । त्यसपछि यो विषयलाई परीक्षण गरी यसको अस्तित्वको यकिन गर्न विभिन्न कोणबाट परीक्षण गर्ने कार्य भयो । अन्ततः यसको अस्तित्व अकाट्य र अनिवार्य देखियो । यसरी आएको परिणामलाई सार्वजनिक नगरी यसै राख्दा भौतिक शास्त्री, गणितज्ञ र समग्र मानवपुस्तालाई अरु धेरै समयसम्म यसबाट हुने लाभको अभाव हुनेछ भन्ने लाग्यो र यो परिमाणबारे जानकारी गराउनु अनिवार्य ठानेँ, खोजकर्ता कुँवरको भनाइ छ ।

‘यो खोज कुनै प्रचलित सिद्धान्त वा नियमप्रतिको असहमति वा विमतिको कुरा होइन, आफैमा स्वतन्त्र र नित्तान्त मानवउपयोगी भौतिक शास्त्रीय परिमाणको नवीनतम् भेट्टाइ हो ।’ कुँवरले भन्नुभयो ।

भौतिक शास्त्र पुनर्निर्माण अभियानका केन्द्रीय अध्यक्षसमेत रहेका कुँवर हाल काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्स्का प्रबन्ध निर्देशक समेत हुनुहुन्छ । विगत केही वर्षदेखि भौतिक शास्त्र पुनर्निर्माण अभियानका परीक्षणमूलक क्रियाकलापहरु नेपालका विभिन्न जिल्लाहरुमा सन्चालन हुँदै आएका छन् । हालै उक्त अभियानमूलक संस्थाको जापान सन्जालसमेत गठन भएको छ । कुँवरले केही वर्षअघि नेपालका केही विश्वविद्यालय र कलेजका प्रयोगशालाहरु तथा अनुसन्धान केन्द्रमा ‘कुनै वस्तुद्वारा विस्थापित हुने तरल पदार्थको तौल उक्त वस्तुले अनुभव गर्ने ऊध्र्वचापभन्दा घटी वा बढी हुन्छ’ भन्ने नयाँ तथ्यसमेत प्रमाणित गर्नुभएको थियो । पछिल्लो समयमा प्रकाशित कुँवरको ‘सुवातदेखि सुव्रतसम्म’ र ‘सुव्रतका केही प्रभावहरु’ दुई अनुसन्धानात्मक लेखहरुले भौतिक शास्त्रीहरुलाई रोचक समाधान दिएका थिए भने अर्कातिर कुँवरलाई नै ‘दुर्यान्तर’को अस्तित्वलाई पुनः परीक्षण गर्न प्रेरित गरेका थिए ।

‘सुव्रत’को मान्यता सैद्धान्तिक र गणितीय परीक्षणका आधारमा प्रमाणित गर्न कुँवरलाई केही समय लागेको थियो । त्यसपछि कुँवरले ‘दुर्यान्तर’को परीक्षणका लागि पहिलेका परीक्षणमा प्रयोग गरिँदै आएको ‘एसएटिएम–१’ लाई परीक्षणका लागि छान्ने योजना बनाउनुभएको जानकारी दिनुभयो । अनुसन्धानमूलक सामग्री राखिएको कोठामा हेर्न जाँदा उक्त यन्त्र भुकम्पका बेला अरु चीजले थिचिन गई केही भाँचिएको अवस्थामा रहेको देखियो । कुँवरले केही दिन लगाएर उक्त यन्त्र प्रयोगयोग्य बनाएको बताउनुभयो । ‘एसएटिएम–१’ मा पहिलेको भन्दा केही सुधार पनि भएको छ र लक्षित परीक्षणका लागि अनुकूल बनाइएको छ’ कुँवरले भन्नुभयो ।
Photo0711
पटकपटक गर्नुपर्ने विशेष परीक्षणका लागि कोठाभित्रकै स्थान पर्याप्त भए पनि धेरै संख्याका समयान्तरालहरुका लागि अग्लो घर चाहिने हुनाले खोजकर्ता कुँवरले आफू भाडामा बसेको घरका घरबेटीलाई छतमा गई परीक्षण गर्न दिनका लागि अनुमति मागेको बताउनुभयो । अनुमति पाएपछि कुँवर त्यस घरको परीक्षण स्थलको नापजाँचतिर लाग्नुभयो । यसपछि चाहिने अन्य सामान जुटाएर परीक्षण गर्ने योजना बनाउनुभयो । परीक्षणमा आवश्यक सहयोग गरिदिन र परीक्षणस्थलमा वस्तु खस्दा चोट लाग्न सक्ने भएकाले केटाकेटीहरुलाई प्रवेश गर्न नदिनका लागि वरपरका सहयोगी छिमेकीहरुको सहयोग लिइएको कुँवरले जानकारी दिनुभयो ।

‘दुर्यान्तर’का खोजकर्ता कुँवरले सर्वप्रथम वि.सं. २०४७ सालमा हावाबाट चल्ने यन्त्रको एउटा रोचक संरचना निर्माण गरेपछि भौतिक विज्ञानतर्फ रुचि बढाउँदै आउनुभएको थियो । कुँवरले ‘दुर्यान्तर’ नामक भौतिक शास्त्रीय परिमाणको खोजी भने बिगत अठाह्र वर्षपहिलेदेखि गर्दै आएको जानकारी दिनुभयो । कुँवर वि.सं. २०५५ सालमा क्याम्पसबाट उकालो बाटो भएर एउटा वस्तुसँग खेल्दै घरतिर जाँदा अकस्मात एउटा सोँच आएपछि त्यस नयाँ सोँचलाई यान्त्रिक संरचनाको स्वरुप दिने तौरतरिकाका लागि नजिकैको चौतारोमा बसेर धेरै बेर सोचेको बताउनुहुन्छ । त्यसपछि कुँवरको मनमा सोहीवमोजिमको यन्त्रनिर्माणको योजना बनेको थियो ।

कुँवरले त्यतिबेला यन्त्र बनाउने योजना बनाए पनि अनुकूल वातावरण वि.सं. २०६० मा मात्र मिल्न गयो । सुरुमा सो यन्त्रको शक्तिका लागि मापन गर्न आवश्यक प्रचलित भौतिक विज्ञानका नियम तथा सूत्रहरुको खोजी र जाँच गर्ने कार्य थालनी गरिएको थियो । सोही वमोजिम जागिरका रुपमा दिउँसो स्कुल पढाउने र साँझबिहान बागलुङको ग्यालेक्सी इन्जिनियरिङ वर्कसपमा यन्त्र निर्माण प्रयास गर्ने कार्य गरेको उहाँले जानकारी दिनुभयो ।

तर विविध कारणवश उक्त कार्य सम्पन्न हुन सकेन । यसपछि यन्त्रमा भन्दा पनि यन्त्रमा प्रयोग हुने प्रायोगिक सूत्र तथा नियमहरुको अध्ययन र खोजीतर्पm उनको रुचि बढेर गयो । कुँवर भन्नुहुन्छ ‘विज्ञानमा पनि कुकुर हान्दा ढुकुर पर्ने उखान लागु हुँदो रहेछ ।’ एउटा सोचेर गर्यो नतिजा नसोचेको आइदिन्छ अनि खोजको मोड परिवर्तन हुन जान्छ । अज्ञानता र भवितव्य नतिजा भौतिक शास्त्रको नवीनताका बलिया अस्त्र रहेछन् ।

खोजकर्ता कुँवरले विभिन्न कलेज र विश्वविद्यालयमा गरी दर्जनबढी भौतिक शास्त्रीय प्रवचनहरु दिइसक्नुभएको छ । वि.सं. २०६९ माघ २७ मा अरनिको इन्टरनेशनल कलेज ललितपुर, वि.सं. २०६९ पुस २८ मा युनाइटेड स्कलर्स एकेडेमी कलंकी र वि.सं. २०६७ देखि विभिन्न समयमा काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्स्मा ‘एसएटिएम–१’ को सहायताले सम्बन्धित परीक्षणहरु प्रदर्शन गरेका तस्वीर र जानकारीहरु सम्बन्धित मितिहरुमा भौतिक शास्त्र पुनर्निर्माण अभियानको फेसबुक पेजमा पोष्ट गरिएको देखिन्छ ।

त्यसै गरी उहाँले दर्जनौँ रिसर्चपेपर सम्पन्न गर्नुका साथै भौतिक विज्ञानसँग सम्बन्धित पाँचवटा अनुसन्धानमूलक पुस्तकाकार कृतिहरु प्रकाशित गरिसक्नुभएको छ । पछिल्लो समयमा विभिन्न सिद्धान्त तथा नियमहरुको जाँचका लागि भनेर केही उपकरणका अतिरिक्त ‘एसएटिएम–१’, ‘आरटिएम–१’, ‘सियुएस–१’ आदि यन्त्रहरुको निर्माण पनि उनले गरेका छन् । ती यन्त्रहरुको प्रयोगबाट गरिने परीक्षण सफल भएपछि उपत्यकाका विश्वविद्यालय तथा विभिन्न कलेज र शिक्षण संस्थाहरुमा परीक्षण प्रदर्शन तथा सम्बन्धित प्रवचन प्रस्तुत गर्ने काम पनि सम्पन्न भएको छ ।

कुँवर अहिले अनुसन्धानमूलक कार्य समग्र देश र मानव जातिको हितसँग जोडिएको विषय भएको र व्यक्तिगत लाभको विषय नभएकाले अनुसन्धानका लागि सहयोग पनि जुटाउने अभियानमा हुनुहुन्छ । कुँवरले भन्नुभयो ‘अन्य देशहरुमा कुनै अनुसन्धानका लागि अर्बौँ डलरको सहयोग जुटाएको देखिन्छ । तर,नेपालमा भने त्यस्तो छैन ।’