समाचार प्रभाव: बगरफाँटमा फेरिदै विद्युतका काठेपोल

0

(धु्रबसागर शर्मा)
म्याग्दीका ग्रामिण भेगमा झण्डै दुई दशकअघि गाडिएका विद्युतका काठेपोल कुहिन थालेपछि दुर्घटनाको त्रास बढीरहेका बेला नेपाल विद्युत प्राधिकरण म्याग्दीले काठेपोल फेरेर फलामे पोल गाड्न थालेको छ ।गत पुसमा बेनी अनलाइनमा “विद्युतका काठेपोल कुहिन थालेपछि दुर्घटनाको त्रास” शीर्षकको समाचार प्रकाशित भएपछि प्राधिकरणको ध्यानाकर्षण भएको हो ।

जिल्लाका,ेबेनीनगरपालिकाका,बगरफाँट,रत्नेचौर,गौश्वारा,फापरखेत,अर्जम,सिंगातातोपानी,पुलाचौर,घतान,तोरीपानी लगाएत बरंजा,भकिम्ली,गासिमा रहेका १ हजार २ सय काठेपोलहरुमध्ये अधिकाँश काठेपोल कुहिन थालेका थिए । २०५४ सालमा काठेपोलबाट बिजुली बालिएको सदरमुकाम बेनीबजारसंगै जोडिएको बेनी नगरपालिका वडा नं ४ बगरफाँटमा विद्युत प्राधिकरणले उपलव्ध गराएका १७ वटा फलामे पोल फेरिएको छ ।

‘गाउँभरिका सम्पूर्ण पोलको अवस्था अत्यन्त नाजुक रहेको थियो, तारहरु खेतमा छरिएका, रुखमा छोईएका थिए’ स्थानीय बुद्धिजिवी नारायण कार्कीले भन्नुभयो ‘काठेपोलले ज्यानको जोखिम बढाएको अवस्थामा काठेपोल फेरेर फलामे पोल हाल्न थालेपछि राहत भएको छ ।’

‘जिल्लाका विभिन्न ठाउँमा १ हजार २ सय भन्दा बढी काठेपोल रहेका र तिनको अवस्था दयनीय रहेको विद्युत प्राधिकरण म्याग्दीका प्रमुख सिताराम शाहले बताउनुभयो । प्रमुख शाहका अनुसार अव काठेपोल प्रयोग गर्न नपाइनेभएकोले १÷२ वर्ष भित्रमा सबै काठेपोल फेरेर फलामे पोल गाड्ने प्राविधिकरणको योजना रहेको छ । विद्युत्का पोल कुहिएर भाँचिएपछि वनमा रहेका काठ काटेर अस्थायी समस्या समाधान गरिएतापनि वन क्षेत्रको नै नोक्सान हुने खतरा समेत बढेको स्थानीयले बताएका छन् ।

१ नगरपालिका र ३५ वटा गाविस रहेको म्याग्दीमा अहिलेसम्म बेनी नगरपालिका सहित १९ वटा गाविसमा विद्युतीकरण भएको प्रमुख शाहले बताउनुभयो । प्रमुख शाहका अनुसार गत वर्ष १ हजार फलामको पोल प्राप्त भएका र ती सबै पोलहरु गाउँमा विस्तार गरिएको छ । चालु आवमा बजेट कम भएको हुँदा गत वर्षको भन्दा कम फलामे पोल प्राप्त हुने भएकोले सवै ठाउँमा उपलव्ध गराउन कठिन हुने प्रमुख शाहले बताउनुभयो ।