भकिम्लीका मृगौलापीडित बाबुराम पुनको उपचारमा सहयोगको याचना

0

दुवै मृर्गौलामा खराबी आएपछि आर्थिक समस्यामा उपचारबाट बन्चित भएका भकिम्ली–८ का बाबुराम पुनले उपचारमा सहयोगको याचना गरेका छन्। ५ बर्ष देखी मृगौलाको समस्या देखिएपछि उपचारमा गराइरहेका ४० बर्षिय पुनले बेनीअनलाइनमार्फत उपचारमा सहयोगको याचना गरेका हुन् ।

मृगौलामा खरावी आएपछि परिवार र आफन्तको सहयोगमा मणिपाल अस्पताल पोखरामा उपचार गराइरहेका पुनले आर्थिक अभावका कारण नियमित औषधी सहित उपचारमा समेत समस्या भइरहेको बताए । ‘मेरो घरको पैसा पनि सकियो, अहिले अस्पताल बाहिर कोठा लिएर बसेको छु’ उनले भने ।

पुर्व भारतीय सेनामा कार्यरत पुनका बुबा रत्न बहादुरको पेन्सक सहित आफन्तबाट लिएको ऋणले उपचार गराइरहेका पुनलाई सहयोग गर्न भकिम्लीका धन श्रीषले अनुरोध गरेका छन् । ‘परिवारले भएको सम्पत्तीले उपचार गराइरहेका छन् ।भकिम्लीबासीलाई सहयोग गर्न अपिल गर्दछु’ उनले भने ।

उपचारका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ती कोषमा अनुरोध गरिएको समेत श्रीषले बताए । मृगौला दिने ब्यक्तिको पहिचान भए आर्थिक सङ्कलन अभियान सुरु गरिने प्रतिबद्धता शान्ती कोषबाट प्राप्त भएपछि आफन्तलाई जानकारी गराइएको उनले बताए । भकिम्लीबाट स्वदेश तथा विदेशमा रहेकालाई आर्थिक सहयोगमा सहभागि हुन अनुरोध सहित सहयोग संकलन अभियान समेत सुरु भएको छ ।