शुक्रबार बिहानैदेखि मौसममा आएको परिवर्तनका कारण हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । देशैभर मौसम बद्ली भई आज बिहानैदेखि आकाश धुम्मिएको र पानी परेपछि मुस्ताङ र म्याग्दीको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।

मुस्ताङ जिल्लाको सबै गाविस र सदरमुकाम जोमसोम बजारमा दिउँसो पानी परेपनि अहिले हिउँ पर्न थालेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले टेलिफोनमा जानकारी दिए । बिहानैदेखि परेको वर्षाका कारण चिसो बढेपछि सर्वसाधारण बाहिर निस्कन नसकेको र जोमसोम विमानस्थलमा विमानले उडान नभएको उनले बताएका छन् ।

हिमपातपछि जोमसोम आसपास क्षेत्रका डाँडाहरु सेताम्मे देखिएका छन्भने सर्वसाधारणको घरगोठ समेत हिउँले भरिन थालेको प्रजिअ पोखलको भनाई छ । दिउँसो पानी परेको र अहिले हिउँ पर्न थालेको हुँदा रातीसम्म यही अवस्था रहेमा जोमसोम बजारमा पनि बाक्लो हिउँ जम्न सक्ने सम्भावना रहेको उनले बताए । हिमपातसँगै बढेको चिसोका कारण सर्वसाधारणहरु घरभित्रै आगो तापेर बस्न बाध्य भएका छन् ।

गएको कार्तिक मङ्सिर महिनादेखि नै मुस्ताङमा चिसो बढ्न थालेपछि उपल्लो मुस्ताङवासीहरु भने यसअघि नै बेंसी झरिसकेका छन् । अत्यधिक रुपमा बढेको जाडो छल्न बेंसी झरेका उनीहरुले यो समयमा मध्य नेपाल र भारतसम्म पुगेर व्यापार गर्ने गर्दछन् ।

यता सिमसिम वर्षाले म्याग्दीको जनजीवन पनि कष्टकर बनेको छ । वर्षासँगै म्याग्दीको गूर्जा, लुलाङ, मुदी, चिमखोला, कुईनेमङ्गले, राम्चे, खोप्रालेकलगायतका उच्च हिमाली बस्तीमा हिमपात भएको स्थानीयवासिन्दाले बताएका छन् । वर्षाका कारण चिसो बढेको र निरन्तर वर्षा भैरहे बाक्लो हिमपात हुनसक्ने मुदीबाट थमसरा पुनले बताइन् ।

वर्षा र हिमपातले बालबालिका, वृद्धवृद्धा र बिरामीलाई चिसोको प्रभाव निकै परेको छ । गूर्जासहित जिल्लाका माथिल्लो भेगका आधा फिटसम्म हिउँ परेको बताइएको छ । बिहिबारसम्म सफा मौसम र जाडो घट्दै गैरहेको अवस्थामा शुक्रबार रातीदेखि हावाहुरी र चिसो बढेको थियो । जाडो बढेपछि सर्वसाधारणले घर आसपासका क्षेत्रमा आगो ताप्दै दिन बिताएका थिए ।

दिउँसो १२ बजेदेखि भएको वर्षा अहिले पनि निरन्तर भैरहेको छ भने वर्षा रोकिएको छैन् । चिसो बढेपछि स्थानीय घरबाहिर निस्कन सकेका छैनन् भने वर्षापछि पैदलयात्रीलाई समस्या भएको छ । देशभरी कै मौसम शुक्रबार बदली भएपछि अधिकांश ठाउँमा बिहानैदेखि हल्का पानी परिरहेको र उच्च हिमाली क्षेत्रमा हिमपात भएको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार बिहानदेखि भने देशभरी कै मौसममा सुधार हुने मौसमविद् शान्ति कँडेलले बताइन् । रातिदेखि नै बादल लागेपछि देशभरकै न्यूनतम तापक्रम भने बढेको छ ।यसैबीच चिसोबाट बच्नका लागि तातो पेयपदार्थ पिउने, पोसिलो खानेकुरा खाने, चिसोमा धेरै समय बाहिर ननिस्कने र बाक्लो कपडा लगाएर बस्न स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् ।