नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको शनिबार बेनीमा सम्पन्न प्रथम क्षत्रीय भेला ९ बुँदे बेनी घोषणापत्र जारी गर्दै सकिएको छ । ‘व्यवसायिक संरक्षण साङ्गठनिक सशक्तिकरण हाम्रो अभियान’ भन्ने मूल नारासहित आयोजित भेलाले पुस्तक व्यवसायसँग सम्बन्धित घोषणापत्र जारी गरेको हो ।IMG_0002(4)

भेलाको बन्दसत्रले राज्यले निर्धारण गरेका मापदण्डका आधारमा पुस्तक तथा स्टेशनरी सामान अङ्कित मुल्यमा बिक्री वितरण गर्ने गराउने, व्यावसायिक फर्म दर्ता भएका व्यवसायीबाट कारोबार गर्ने गराउने, निजी विद्यालयका पाठ्यपुस्तक शैक्षिक संस्थाको हाताभित्र बिक्री वितरणमा प्रतिबन्ध लगाउने र प्रकाशन गृह वा उत्पादकका उत्पादित सामान व्यवसायीमार्फत गर्ने गराउनेलगायतका मागहरु घोषणापत्रमार्फत सार्वजनिक गरिएको छ ।
IMG_0012(2)
क्षत्रीय भेलाको उद्घाटन गर्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हरिप्रसाद अर्यालले व्यवसायीका समस्या समाधान गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए । सोही कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले पुस्तक व्यवसायीका समस्या समाधान गर्न सबै मिलेर अघि बढ्नुपर्ने भन्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
IMG_0005(3)
कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्मा, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक रामकरण पाल, बुद्धिजीवी परिषद नेपालका पूर्व केन्द्रीय सदस्य तारानाथ शर्मा, प्याब्सन म्याग्दीका अध्यक्ष कृष्णप्रसाद सुवेदी, नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठ र स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय महासचिव नवनिधि पन्तले मन्तव्य राखेका थिए ।
IMG_0017(1)
कार्यक्रम नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका क्षत्रीय उपाध्यक्ष हेमानन्द शर्माको अध्यक्षता, केन्द्रीय सदस्य लिलाराम गौतमकोे सञ्चालन र म्याग्दी शाखा अध्यक्ष ठाकुरप्रसाद शर्माको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा महासंघका तृतीय उपाध्यक्ष मातृका सिवाकोटी, पश्चिमाञ्चलको विभिन्न जिल्लाका अध्यक्षहरु र म्याग्दीस्थित सरकारी तथा गैरसरकारी कार्यालय, संघसंस्थाका प्रतिनिधि र पत्रकारलगायतको सहभागीता रहेको थियो ।

विज्ञापन