संविधानको कार्यान्वयन गर्न सरकार असफल :प्रवक्ता देवकोटा

0

नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटाले संविधान कार्यान्वयन गर्न वर्तमान सरकार असफल भएको बताएका छन्् । उनले जारी संविधानको पूर्णरुपमा कार्यान्वयन हुनुपर्ने बताएका छन् । पार्टी कामको सिलसिलामा म्याग्दीको बेनी आएका नेता देवकोटाले पत्रकारसँग कुरा गर्दै विगत लामो समयपछि प्राप्त संविधानको कार्यान्वयन हुनुपर्ने बताएका हुन् ।

उनले नयाँ शक्तिको चाहना संविधान कार्यान्वयन होस् भन्ने रहेको बताउँदै देशको वर्तमान समस्या समाधान गर्न आफ्नो पार्टीले सहजकर्ताको भूमिका खेल्ने बताए । अहिलेको सरकारले संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गर्नेबाहेक अन्य काम गर्न नसकेको हुँदा सरकार अत्यन्तै सङ्कटको अवस्थामा रहेको प्रवक्ता देवकोटाले बताएका छन् ।

उनले संविधान संशोधन गर्न नसक्ने, चुनाव घोषणा पनि गर्न नसक्ने र दलहरुबीच आपसी विश्वास जित्न पनि सरकारले नसकेको आरोप समेत लगाए ।
पहिलो संविधानसभामा शक्ति बाँडफाँड नमिलेकै कारणले संविधान नआएको जिकिर गर्दै उनले दोस्रो संविधानसभामा शक्ति बाँडफाँड मिलेका कारण संविधान जारी भएको बताए । नेता देवकाटाले संविधानको पहिलो संशोधन पनि शक्ति बाँडफाँडमा मिलेको हुँदा संशोधन भएको बताउँदै अहिले शक्ति बाँडफाँड नमिलेका कारण संविधानको संशोधन हुन नसकेको बताएका थिए ।
IMG_7965
अहिले देशको राजनीति ठिक तरिकाले अगाडि बढ्न नसकेको भन्दै उनले अहिले पनि नेपालको राजनीति शक्ति बाँडफाँडमै अल्झिरहेको बताए । नेपाली समाजको समस्या बेरोजगार र भ्रष्टाचार रहेको भन्दै नेता देवकोटाले भ्रष्टाचारको केन्द्र राजनीतिक दल भएको आरोप लगाएका छन् । प्रधानमन्त्री, राष्ट्रपति, सभामुख र न्यायपालिकाको क्षेत्रमा मात्रै संविधानको कार्यान्वयन भएको बताउँदै पुनर्संरचनाको प्रतिवेदन क्याबिनेटले फाइनल गरेमा त्यो पनि संविधानको कार्यान्वयनभित्रै पर्ने उनको भनाई छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नगरेसम्म देशले निकास नपाउने भन्दै उनले ७० वर्षपछि नेपालको राजनीति बल्ल परिवर्तन भएको बताए । उनले व्यवस्थाका विरुद्ध सबैसँग लड्ने समय सकिएको भन्दै अब अवस्थाका विरुद्ध लड्नुपर्ने समय आएको बताएका छन् । नयाँ शक्तिले जनताको काम गर्न हेल्प डेक्स स्थापना गर्ने भन्दै नेता देवकोटाले आफ्नो पार्टीले अन्य पार्टीसँग एकीकरणको अभियान अघि बढाएको बताए । उनले सङ्घीय समाजवादी फोरमसँग नयाँ शक्तिले सहकार्य गरेर अघि बढ्ने बताएका छन् । विद्यार्थीको निर्वाचनमा अन्य दलसँग आबद्ध विद्यार्थीहरुसँग पनि सहकार्य गरेर अघि बढ्ने र विस्तारै पार्टी एकताको पहल गर्ने उनको भनाई छ ।