तीनवटा बाख्रा चोरेर १६ हजारमा बिक्री, आरोपमा एकजना पक्राउ

0

बाख्रा चोरेको आरोपमा सोमबार म्याग्दीमा एकजना पक्राउ परेका छन् । म्याग्दीको बेनी नगरपालिका-१० काउलेगौंडाका ४५ वर्षका रत्ने भन्ने बिमल सार्कीलाई बेनपा-१० की मनकुमारी विकको खोरबाट बाख्रा चोरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

विकको खोरबाट यही माघ ११ गते राति ३ वटा बाख्रा चोरेर पर्वतको मल्लाज माझफाँट मालपाटास्थित जङ्गबहादुर परियारलाई बाख्रा १६ हजारमा बिक्री गरी सोही घरमा रात बिताएको अवस्थामा आरोपित सार्कीलाई सोमबार पक्राउ गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी अधिकृत धनबहादुर कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरी चोरी मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।