एमालेनिकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) म्याग्दीले खानेपानी आयोजनामा श्रमदान गरेको छ । आइतबार शहिद दिवसको अवसर पारेर अनेरास्ववियु म्याग्दीले बेनी नगरपालिका–१२ डडुवामा निर्माणाधीन अवस्थामा रहेको खानेपानीको आयोजनामा श्रमदान गरेको हो ।
DSC03610
अनेरास्ववियू म्याग्दीका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य प्रकाश पौडेलको नेतृत्वमा डडुवा पुगेको २७ जना विद्यार्थीहरुले श्रमदान गरेको अनेरास्ववियु म्याग्दीले जनाएको छ । आफुहरुले खानेपानी आयोजनाको स्थानीय उपभोक्तासँग आवश्यक समन्वय गरी पाइपलाइन खन्ने, ढुङ्गा सङ्कलन गर्नेलगायतका कामहरु गरेको अनेरास्ववियुका अध्यक्ष सुवास विश्वकर्माले बताए ।
DSC03622
देशका निम्ति रगत बगाउने शहीदको सम्झनामा एक दिन भए पनि पसिना बगाउने उद्देश्यसहित सङ्गठनमार्फत श्रमदान गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलले बताएका छन् । अरुलाई देखाउन र चर्चा कमाउन नभई सङ्गठनको बलबुताले भ्याएसम्म विद्यार्थी र आम नागरिकको दैनिकीलाई सहजीकरण गर्न सङ्गठनले निरन्तर प्रयास गरिरहने उनले जानकारी दिएका छन् ।
DSC03601
खानेपानीको पाइप बिच्छ्याउन कुलो खन्ने काममा विद्यार्थीको श्रमदानले स्थानीय उपभोक्तालाई सहयोग पुगेको डडुवा खानेपानी आयोजना निर्माण समितिका अध्यक्ष मोहनबहादुर भण्डारीको भनाई छ । फिनल्यान्ड सरकारको ३४, नेपाल सरकारको ३४, जिविस म्याग्दीको ४, बेनी नगरपालिकाको ६ प्रतिशत र बाँकी उपभोक्ताले व्यहोर्ने गरी खानेपानीको आयोजना अगाडि बढाइएको छ ।
DSC03620
सोलार प्यानलको सहयोगमा ट्याङ्कीभन्दा ३ सय मिटरमाथि रहेको डडुवा गाउँमा पानी लैजाने योजना रहेको उक्त आयोजनाबाट डडुवाका ८४ घरधुरी लाभान्वित हुने भएका छन् । जिविस म्याग्दीद्वारा सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानीको १ करोड ३३ लाखको लागतमा निर्माण हुन लागेको आयोजनाबाट सार्वजनिक धारासहित कुल ९४ वटा धाराहरु निर्माण गर्न लागिएको छ । पानीको मुहान देउराली डाँडाको भिरमा रहेको पहिरोबाट सोलार प्यानलको प्रयोग गरी २० घनमिटरका ३ वटा ट्याङ्की निर्माण गरिने बताइएको छ ।
DSC03599