पश्चिम म्याग्दीको ताकम–४ की ब्लड क्यान्सर पिडित फुलमायाँ भण्डारीको उपचारमा आर्थिक समस्या देखिएपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान सञ्चालन गरेको छ । मंगलबार कोषको कार्यालयमा पत्रकार सम्मेलन गरी पत्रका सन्तोष गौतमको संयोजकत्वमा फुलमायाँ बचाउँ अभियान सुरू गरिएको हो ।

अभियानको सदस्यमा तेजप्रकाश पुन (हङकङ),योगेन्द्र बहादुर क्षेत्री (यूके)चक्र बहादुर थापा (न्युजरल्याण्ड), चक्र बहादुर थापा (अस्टे«लिया), बेल बहादुर शेरचन (साउदी अरवा), मोहन बहादुर थापा(अमेरिका),सुनेश केसी(दक्षिण कोरिया),बालकृष्ण सुबेदी(कतार),राजारामसुबेदी(बहराईन) जीवन बहादुर थापा(जापान) र कृष्णराज पौडेल सदस्य रहेको उपसमिति बनाइएको छ ।

अभियानको पहिलो दिन ओमकुमारी शान्ती कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी १० हजार, फुलमायाँका दाजु दलबहादुर खत्री १० हजार, अध्यक्ष राजेश शाक्य ५ हजार,मनप्रसाद थजाली २५ सय, टकसरा राना २ हजार,लोकेश पुन २ हजार र नरेश श्रेष्ठ २ हजारले आर्थिक सहयोग गरेका छन् । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेकी भण्डारीले ४ लाखभन्दा बढी खर्च भएकाले थप उपचारमा आर्थिक अभाव भएपछि आर्थिक सहयोगको अनुरोध गरिएको दलबहादुर खत्रीले बताए । पोखराको गण्डकी अस्पतालबाट विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रिफर गरेपछि उपचारका लागि करिव १५ लाख खर्च हुने अनुमान गरिएको छ ।

३३ बर्षिया भण्डारीको गाउँमा सानो किराना पसल रहेको छ भने श्रीमान खाडीमुलुकमा रोजगारीका लागि गएका छन् । १ छोरा र २ छोरीलाई ब्यापारबाट शिक्षादिक्षा र घरखर्च चलाउन समेत मुस्किल भइरहेको छ । पत्रकार सम्मेलनमा कोषका अध्यक्ष राजेश शाक्यले आर्थिक अभावकै कारण मृत्युको मुखमा पुग्नुपर्ने अवस्थाको अन्त्य गर्न अभियान सञ्चालन गरिएको बताए । कोषले यसअगाडी २६ जनाको उपचारमा आर्थिक सहयोग जुटाएको छ ।

यसैविच बरंजा–३ तोलवाङकी प्यारालाइसेस विरामी मायाँ गुरूङलाई २० कोषको अभियानमार्फत २० हजार उनका आफन्त भिमकुमारी गुरुङमार्फत हस्तान्तरण गरिएको छ । यसैविच सोही अवसरमा सन्तोष गौतम, कृष्णराज पौडेल र दलबहादुर खत्रीलाई समेत आजिवन सदस्यता वितरण गरिएको थियो । थकान महसुस हुनु, पटकपटक संक्रमित हुनु, तौल घट्नु, अचानक ज्यरो आउनु, बढी रगत आउनु, जोर्नीमा दुखाई, लिम्फ नोड्स बढ्नु, पेटको समस्या लगाएतका कारण देखिएमा ब्लड क्यान्सर हुन्छ । ब्लड क्यान्सरपीडित भण्डारीको उपचारमा ताकमबाट विश्वका विभिन्न देशमा पुगेका ताकमबासीलाई समेत सहयोग अभियान सञ्चालनका लागि अनुरोध गरिएको छ ।
यो पनि पढ्नुहोस् : ब्लडक्यान्सर पीडित भण्डारीले अस्पतालको बेडबाट सहयोगको याचना