म्याग्दीको मुदीमा विष मेगावाट क्षमत्ताको अपर म्याग्दी जलविद्यु्त आयोजना निर्माणको तयारी भएको छ । निजी क्षेत्रको हइाड्रो इम्पाएर प्रालिले आयोजना निर्माणका लागि पहिलो चरणमा पहुँचमार्ग निर्माण सुरु गरेको छ । आयोजनाको विद्युतगृह र बाँध रहने स्थानसम्म पुग्ने सडक निर्माण थालिएको हो । बिमको भारवाङ र मुदीको छहरीबाट एकैसाथ सडक निर्माण सुरु गरेको आयोजनाले छिट्टै मुदीको खाराबाट पनि सडक खन्ने जनाएको छ ।

हाईड्रो ईम्पाएर प्रालिका कार्यबाहक अध्यक्ष मानबहादुर श्रेष्ठले तीनवटा खण्डमा निर्माण हुने सडक सात मिटर फराकिलो हुने जानकारी दिए । “भारवाङदेखि मुदीको घिमलटी भन्ने स्थानसम्म जोड्ने दश किलोमिटर सडक निर्माण कार्य आगामी असोजभित्र सक्ने लक्ष्य छ”, श्रेष्ठले भने ।

हाल बिमको शिवरात्री खोलासम्म मात्र सडक पुगेको छ । खिवाङ र मुदी गाउँको बेँसीमा पर्ने घिमलटीमा रहने विद्युत् गृहसम्म सडक पुगेपछि कात्तिकदेखि सुरुङ निर्माण थाल्ने आयोजनाको तयारी छ । आयोजनाले निर्माण गर्ने सडकबाट मराङको कल्लेनी, मुदीको बाँसबोट र खिवाङ गाउँका बासिन्दाहरु समेत लाभान्वित हुने भएका छन् । कार्यबाहक अध्यक्ष श्रेष्ठका अनुसार आयोजना निर्माणका लागि चार अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाबाट दश प्रतिशतसेयर सङ्कलन गर्ने र बाँकी स्वदेशी लगानीकर्ता, बैङ्क र वित्तीय संस्थाबाट लगानी जुटाउने आयोजनाले जनाएको छ । मुदीको चेचुङ गाउँको पुछारमा रहेको जुगेपानीमा बाँध रहने आयोजनाको सुरुङको लम्बाङ २.९ किलोमिटर हुने जनाइएको छ ।

२०८ मिटर हेडबाट विद्युतगृहमा पानी खसाल्ने योजना छ । यो आयोजना रन अफ द रिभर प्रविधिको हो । वातावरणीय प्रभाव मूल्याङकन र विद्युत् खरिद बिक्री सम्झौता भइसकको आयोजनाका सागर शर्माले बताए । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्र मानिने मुदीमा जलविद्युत आयोजना निर्माणको तयारी भएपछि छिमेकी गाविसका बासिन्दाहरु समेत उत्साहित भएका छन् । karobardaily.com