दुवै मृर्गौलामा समस्या आएपछि आर्थिक समस्यामा उपचारबाट बन्चित भएकी म्याग्दी बावियाचौर–३ की ५० बर्षिया टिका कुमारी शर्माले सहयोगको याचना गरेकी छन् । एकबर्ष अगाडी दुवै मृगौलामा खरावी देखिएपछि घरको सम्पत्ती, ऋण खोजेर उपचार गराइरहेकी शर्माको थप उपचारमा आर्थिक अभाव भएपछि उपचारमा परिवारले सहयोगको अनुरोध गरेका छन् ।

‘घरमा भएको पैसा सकियो, उपचारमै २ लाखभन्दा धेरै ऋण लागेको छ’ टिका कुमारीका श्रीमान योगनाथ शर्माले बेनीअनलाइनलाई भने । उनले गतबर्षको साउनमा विरामी भएपछि उपचारको क्रममा दुवै मृगौला फेल भएको चिकित्सकले बताएपछि उपचारको खोजीमा म्याग्दी देखी काठमाण्डौसम्म पुगेको बताए । ‘उपचारमा अव सहयोगी हातकोे पखाईमा छौ । काठमाण्डौमा उपचार गराइरहेको अवस्थामा पैसा सकिएपछि घर फर्काएर ल्याएको छु’ शर्माले भने ।

बेनी–कुहुँ सडकखण्ड अन्र्तरगत बावियाचौरको केराबारी नजिक घर रहेको शर्माको ६ वटा छोरी र १ छोरा रहेका छन् । दुईवटा छोरी र एक छोराको शिक्षा–दिक्षाका साथै घरायसी खर्च समेत जुटाउनुपर्ने अवस्थामा श्रीमति विरामी भएपछि चिन्तित बनेका शर्माले आर्थिक अभावकै कारण गरिव परिवारले मृत्यु रोज्नुपर्ने बाध्यतालाई आफ्नो परिवारले समेत सामना गरिरहेको बताए ।

गाउँकै आर्थिक रुपमा कमजोर परिवारमा पर्ने शर्माले श्रीमतिलाई उपचार गर्न घरमा भएको सबै सम्पत्ती बेच्दा समेत एक छेउ नहुने भएपछि सहयोगको अनुरोध गरेका हु्न् । जिल्ला अस्पताल म्याग्दी देखी काठमाण्डौको ओम अस्पतालसम्म उपचारमा पुगेका शर्माले श्रीमतिको तीनपटक सम्म डायलासिस गरेका छन् । सरकारले निशुल्क भनेका सेवासुविधा लिन समेत सकस भइरहेको पिडित परिवारको गुनासो छ ।

यसैविच शर्माको उपचारमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । आर्थिक अवस्था कमजोर भएकाको उपचारमा सहयोग जुटाउँदै आएको शान्ति कोषले मृगौला दिने डोनरको पक्का भएपछि अभियान सञ्चालन गर्ने बताएपछि परिवार उत्साहित भएका छन् । मृगौला प्रत्यारोपण सहित विभिन्न गरी करिव ४ लाख खर्च हुने अनुमान गरिएको छ ।

विज्ञापन