रक्तक्यान्सरबाट पिडित म्याग्दीको ताकम ४ की ३३ वर्षिया फुलमाया भण्डारीको उपचारका लागि आर्थिक सहयोग प्राप्त हुने क्रम जारी छ ।परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सुरु गरेको फुलमाया बचाउ अभियानमा स्वदेश तथा बिदेशमा रहेका म्याग्देलीहरुले साथ दिएका हुन् । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि कोषले माघ १९ गतेदेखि अभियान सुरु गरेकोे थियो ।

७० हजार रुपैया भन्दा बढी नगद संकलन भैसकेको छ भने दक्षिण कोरीया, बेल्जियम, अमेरीका लगायतका ठाउँमा पुगेका म्याग्देलीहरुले फुलमाया बचाउ अभियान सञ्चालन गरेका छन् । बेनीको न्युरोडका गिता र दामोदर शर्माले अभियानका सदस्य कृष्णराज शर्मालाई तिन हजार पाँच सय ३५ रुपैया उपलब्ध गराउनु भएको छ ।

अस्टे«लीयामा रहनुभएकी सपना भण्डारीले सात हजार ५६० रुपैया सहयोग गर्नुभएको छ । यसैगरी ताकम धारापानी घर भई हाल काठमाडौमा रहनुभएका अर्जुन थापाले पाँच हजार र बेनी मंगलाघाट घर भई हाल दक्षिण कोरीयामा रहनुभएका प्रदिप शर्माले पाँच हजार रुपैया सहयोग गर्ने घोषणा गर्नुभएको छ । अमेरीकामा राहुल केसी, तेजेन्द्र केसी, बेल्जीयममा ज्ञानबहादु विकले अभियानको संयोजन गर्नुभएको छ ।सहयोग घोषणा गर्ने क्रम जारी छ ।

दुई छोरा र दुई छोरीकी आमा फुलमायाको हाल चितवनको भरतपुर स्थित बिपी कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार भैरहेको छ । उनको उपचारका लागि पन्ध्र लाख रुपैया आवश्यक पर्ने अस्पतालले जनाएको छ । कतारमा रहेका फुलमायाका श्रीमान रोशन पनि स्वदेश फर्कीएर श्रीमतीको उपचारमा जुटेका छन् । कोषका अध्यक्ष राजेश शाक्यले भण्डारीको उपचारका लागि सहयोग गर्न स्वदेश तथा बिदेशमा रहेका म्याग्देलीहरुसंग आव्हान गर्नुभएको छ । कोषले यसअघि २६ जना गरिब तथा विपन्न म्याग्देलीको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको छ ।