रक्तक्यान्सरबाट पिडित म्याग्दीको ताकम–४ की ३३ वर्षिया फुलमाया भण्डारीको उपचारमा बागलुङ नगरपालिका–३ गुठीकी लक्ष्मी भण्डारी क्षेत्रीले १० हजार सहयोग गरेकी छन् । ताकम–४ घर माईतीघर भई बागलुङमा बस्ने भण्डारी क्षेत्रीले श्रीमान सरोज क्षेत्रीमार्फत शनिबार परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित भएको खवर सुनेपछि परिवारको तर्फबाट सहयोग हस्तान्तरण गरिएको क्षेत्रीले बताए । ‘आर्थिक अभावकै कारण कसैले ज्यान गुमाउनुपदैन भन्ने सन्देश विश्वभर फैलिएको छ । निरन्तर सहकार्यको प्रतिबद्धता जनाउछु’ उनले भने । कोषमार्फत विगतमा भएका सामाजिक अभियानमा समेत सहभागिता जनाएका थिए ।

ओमकुमारी शान्ति कोषले सुरु गरेको फुलमायाँ बचाउ अभियान मार्फत स्वदेश तथा विदेशमा भइरहेको आर्थिक सङ्कलन अभियानमा पर्वत जिल्ला माझफाँट गाविस घरभई हाल दक्षिण कोरियामा रहेका सुनिश कुमार बरुवालले समेत ११ सय रुपैयाँ उपचारमा सहयोग गरेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा कोषका अध्यक्ष शाक्यले आर्थिक अवस्था कमजोर भएकै कारण मृत्युवरण गर्नुपर्ने समस्यालाई सधैका लागि अन्त्य गर्ने अभियानमा जुटेको बताए ।

‘मानवीय सेवामा सर्मपित अभियानमा सबैको सहयोग पाएका छौं । फुलमायाँ जस्तै समस्या भएका म्याग्देलीलाई सहयोग गर्न कोष तयार छ’ उनले भने । गत माघ १९ गतेदेखि अभियान सुरु गरेकोे थियो । अभियान अन्र्तरगत हालसम्म ७० हजार रुपैया भन्दा बढी नगद संकलन भैसकेको छ । दुई छोरा र दुई छोरीकी आमा फुलमायाको हाल चितवनको भरतपुर स्थित बिपी कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार भैरहेको छ । उनको उपचारका लागि पन्ध्र लाख रुपैया आवश्यक पर्ने अस्पतालले जनाएको छ । कतारमा रहेका फुलमायाका श्रीमान रोशन पनि स्वदेश फर्कीएर श्रीमतीको उपचारमा जुटेका छन् ।

विज्ञापन