तातोपानी शैक्षिक तथा धार्मिक महोत्सवमा १ करोड ४४ लाख

0

म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानीस्थित रहेको सरस्वती माध्यमिक विद्यालयमा सम्पन्न भएको महायज्ञमा १ करोड ४४ लाख ७३ हजार ९११ सङ्कलन भएको छ । विद्यालयलाई प्राविधिक एवं गुणस्तरीय शिक्षाका साथै नमुना सामुदायिक विद्यालय सञ्चालन गर्ने उद्देश्यसहित एकसाता सम्म सञ्चालन भएको म्याग्दी बेनी तातोपानी शैक्षिक तथा धार्मिक महोत्सव श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञमा स्थानीय हाल चितवन टाँडीमा बस्ने टुंगलाल अधिकारी, श्रीमति तारादेवी अधिकारीले करिव ३० लाख बराबरको डेढ रोपनी जग्गा दान गरेका थिए ।

त्यसै तातोपानी कुण्डले ७ लाख नगद, स्थानीय यूवा हाल हङकङमा रहेका चित्र बहादुर बुढा, लक्ष्मण बुढाथोकीले स्वर्गीय मनदेवी बुढाथोकीको नाममा ५ लाख नगद सहयोग गरेको बेनी तातोपानी शैक्षिक तथा धार्मिक महोत्सवका उपाध्यक्ष कुमार केसीले बताउनुभयो । महायज्ञमा १ सय २९ मुरी १० पाथी धान सहित अन्य जिन्सी साम्रागी समेत सङ्कलन भएको छ ।

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले विद्यालयलाई आर्थिक र भौतिक रुपमा सम्पन्न गराउने उद्देश्यले धार्मिक एवं शैक्षिक महोत्सव अपेक्षा गरे अनुसार सफल भएको बताउनुभयो । महायज्ञको प्रमुख कथावाचक बालव्यास पण्डित नारायणप्रसाद न्यौपानेले सङ्गितमय कथावाचन गर्ने कार्यक्रमले समेत भक्तजनलाई आर्कषित गरेको थियो ।

महायज्ञबाट सङ्कलित रकमले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन, विद्यालयलाई भौतिक रुपमा सुविधासम्पन्न र आर्थिक रुपमा आत्मनिर्भर बनाउने, नमुना पुस्तकालय सञ्चालन गर्नेलगायतका योजनाहरु अगाडि सारिएको छ । प्रावि तहको दरबन्दीमा मावि सञ्चालन भइरहेको विद्यालयमा हरेकबर्ष कुण्डबाट करिव १७ लाखभन्दा बढी तलब सहित अन्य पुर्वाधारमा खर्च हुने गरेको छ। जिल्लाकै नमुना शैक्षिक संस्था बनाउने अभियानमा तातोपानी तथा आसपासका सेवाक्षेत्रबाट समेत निम्न आर्थिक अवस्था भएकाहरुले समेत आफ्नो क्षमता अनुसार सहयोग गरेका थिए ।