म्याग्दीको सदरमुकाम बेनीबजार आसपासका सर्वसाधारणलाई स्वस्थ्य मासु उपलब्ध गराउने उद्धेश्यले सदरमुकाम बेनीबजारकै खुल्ला मञ्चमा सञ्चालनमा ल्याएको मापदण्ड बिपरितको बधस्थललाई हटाउन आवश्यक पहल भइरहेको प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले बताएका छन् ।

बधस्थल बनाए लगत्तै स्थानीयबासीले विरोध गरेपनि सम्बन्धित सरकारी निकायले बेवास्ता गरिरहेको अवस्थामा म्याग्दी खोला दुर्घन्धित बनाउने गरी बनाइएको बधस्थलका लागि बैकल्पिक स्थानको खोजी भइरहेको प्रजिअ पौडेलले बताए । ‘बधस्थलबाट फोहोर नदीमा फाल्ने गरेको प्रत्यक्ष देखेको छु । सबैसंग सहकार्य गरी हटाउन पहल सुरु गरिसकेको छु’ पौडेलले भने ।

आइतबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सञ्चारकर्मीहरुसंगको कुराकानीमा प्रजिअ पौडेलले बेनीबजारलाई सफा र सुन्दर बनाउने अभियानमा आफ्नो निरन्तर सक्रियता रहने बताए । म्याग्दी नदीको किनारमा बनाइएको बधस्थलमा बध गरिएका राँगा तथा भैंसी काटेपछि निस्कने फोहोर प्रत्यक्ष रुपमा नदीमा बगाउने गर्दा मानविय स्वास्थ्य र नदीको पानी मात्रै दुसित बनेको छैन, बधस्थलमा काटेको मासु समेत अस्वस्थ बन्दै गइरहेको छ ।

पशु बध गरिसकेपछि त्यसबाट निस्कने फोहोरको व्यवस्थापनका लागि नजिकै खाडल खन्नुपर्नेमा त्यसो नभइ फोहोर प्रत्यक्ष नदीकिनारमा फाल्नाले वातावरण प्रदुसण हुने भन्दै बेनी नगरपालिका ७ का टोल सुधारा समितिले पटकपटक बन्द गराउने चेतावनी समेत दिएको थियो । बधस्थल आसपासमा मासु ब्यवसायीले राँगाभैसीहरु खुलेआम छोड्ने गरेका छन् । पशुपंक्षी राज्यमन्त्री नरदेवी पुनको कार्याकालमा बधस्थल बनाउन १ करोड विनियोजन भएको बताइएपनि जिल्लामा उक्त बजेट नआएको विषयमा समेत चासो देखाइएको छ ।