मृगौला प्रत्यारोपण गरी फर्किएका तेजेन्द्र गुरूङले भने,‘मैले नयाँ जिवन पाए’

0

बेनी नगरपालिका–१३ का ३७ बर्षिय तेजेन्द्र गुरूङ आइतबार परोपकारी संस्था ओमकुमारी शान्ति कोषमा आए ।हसिँलो अनुहार लिएर कोषमा आएका गुरूङले केहीबेर उपचारको क्रममा भएका अनुभवहरु कोषका पदाधिकारीहरुलाई सुनाए । आफन्तसंगै कोषमा आएका गुरुङले मृगौलाका खरावी देखिएपछि मृत्युको नजिक पुगेको महसुस भइरहेको अवस्थामा स्वदेश तथा विदेशमा रहेका म्याग्देली सहित नेपालीले गरेको सहयोगका कारण नयाँ जिवन पाएको बताए । ‘मैले नयाँ जिवन पाएको छु । दोस्रो जन्म लिएर घर फर्कदैछु’ उनले भने ।

मृगौलाको सफल प्रत्यारोपण पछि पोखराबाट घर फर्कदै गरेका गुरुङले कोषका सचिव लोकेश पुन मार्फत अभियानमा सहभागि भएकालाई धन्यवाद दिदैं गुरुङले आर्थिक सहयोग गर्ने र अभियान सञ्चालन गर्ने ओमकुमारी शान्ती कोषका साथै विभिन्न संघसंस्थालाई समेत धन्यवाद दिदैं सामाजिक कार्यमा आफ्नो समेत सक्रियतालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए । सोही अवसरमा तेजेन्द्र बचाउन अभियानका संयोजक विनय श्रेष्ठलाई समेत धन्यवाद दिएका थिए ।

सोही अवसरमा गुरूङलाई स्वागत गदै कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, अध्यक्ष राजेश शाक्य लगाएतले आर्थिक अवस्था कमजोर भएकालाई उपचार अभियानमा तेजेन्द्रको उपचारले थप उर्जा मिलेको बताएका थिए । जिल्लामा आर्थिक अवस्था कमजोर भएका विरामीलाई उपचारमा बन्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । मृगौला प्रत्यारोपण गरेर घरमा आराम गरिरहेका गुरूङले नियमित औषधी सेवन गरिरहेका छन् ।