यसबर्ष पनि म्याग्दीमा हात्तीपाईले रोगविरुद्धको औषधी खुवाइँदै

0

राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लामा यसवर्ष आठौं चरणको हात्तीपाईले (फाईलेरिया) रोगविरुद्धको औषधी खुवाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनमा आइतबार भएको जिल्ला समन्वय समितिको बैठकमा अभियानका बारेमा जानकारी गराइएको थियो।

बेनी नगरपालिका र ३५ गाविसका सबै घरधुरीमा अभियानको पहुँच पुर्याउने गरी प्रचारप्रसार, जनशक्ती परिचान, तालिम लगाएत आवश्यक तयारीका बारेमा बैठकमा छलफल भएको थियो । आगामी फागुन २१, २२ र २३ गते औषधी खुवाईने कार्यक्रमका फोकलपर्सन भिमप्रसाद आचार्यले बताए । उनका अनुसार औषधी खुवाउनका लागि परिचालन हुने स्वास्थ्यकर्मी तथा स्वयंसेवक, बजेट, विगतका समस्या, उपलब्धी र यसबर्षको कार्यक्रमका बारेमा जिल्ला सरकारी कार्यालय प्रमुख, सुरक्षा निकाय लगाएतलाई जानकारी गराइएको थियो ।

प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट डा. रोशन न्यापानेले अभियानको क्रममा जिल्लास्थीति सञ्चारमाध्यम, विद्यालय, स्वास्थ्य चौकी सहित विभिन्न माध्यमबाट प्रचारप्रसारका साथै केन्द्र, घरदैलो मार्फत औषधी सेवन गराउने बताए।
बैठकमा हात्तिपाईले रोगको औषधीका बारेमा सहजिकरण गदैं डा. कृति कँडेलले २ वर्षमूनिका बालबालिका, गर्भवती तथा ७ दिनका सुत्केरी, सिकिस्त र छारे रोगका बिरामी, दिर्घरोगी एवं ५ वर्षमूनिका कुपोषित बालबालिकाहरुलाई भने औषधी सेवन गर्न निषेध गरिएपनि लक्षित समुदायले निर्धक्क औषधीको सेवन गर्दा कुनै असर नगर्ने जानकारी गराएकी थिईन् ।

उनले रोग लामखुट्टेको माध्यमबाट मानिसमा शरिरको काखी, घुँडामूनि, हात तथा खुट्टाको नरम भाग र काटेको ठाउँबाट सर्ने गर्दछ । हात्तीपाईले रोग लागेका व्यक्तिमध्ये पुरुषहरुमा हाईड्रोसिल हुने, अण्डकोष सुन्निने, स्त्रीको स्तन बढ्ने एवं हातखुट्टा ठूलो भएर हात्तीकोजस्तो हुने लक्षणहरु देखिने भन्दै जनस्वास्थ्यको चुनौतीमा रुपमा रहेको हात्तिपाईले रोग विरुद्धको अभियानमा एकजुट हुन अनुरोध समेत गरिन् ।

कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल,स्वागत डा.सञ्चालन कार्यक्रम संयोजनकर्ता भिमप्रसाद आचार्य, मन्तब्य जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरीले समेत मन्तब्य राखेका थिए । विगतका बर्षमा जिल्लामा गरिएको नमुना परिक्षणमा २ दशमलव ३३% अर्थात् १४ सयजना हात्तीपाईले रोगबाट संक्रमित व्यक्तिहरु रहेको तथ्याङ्क सार्वजनिक भएको थियो ।
फाईल तस्विर