म्याग्दीमा योजना धेरै, प्राविधिक थोरै

0

चालु आर्थिक बर्षमा जिल्ला विकास समितिले सम्पन्न गर्नुपर्ने १७३ वटा योजना छन् । तर, अहिलेसम्म जम्मा ३४ वटा योजनाको मात्रै सम्झौता भएको छ । अझै १ सय ७ वटा योजना सम्झौता गर्नुपर्ने भएपनि जिविस र प्राविधिक कार्यालयमा प्राविधिकको सँख्या न्यून हुँदा यसले गति लिन सकेको छैन । प्राविधिक कार्यालयमा अहिले प्रमुख जिल्ला इञ्जिनियर, एक इञ्जिनियर, एक सबइञ्जिनियर र जिविस मातहतबाट सेवा सुविधा लिने गरि दुई सबइञ्जिनियर र एक सहायक सबइञ्जिनियर गरि ६ जना प्राविधिक कार्यरत छन् ।

एकजना सवइञ्जिनियर र दुईजना सहायक सबइञ्जिनियरको पद रिक्त रहेको प्रमुख जिल्ला इञ्जिनियर शिबमान श्रेष्ठले जानकारी दिए । ‘योजनाको सँख्या बढेपनि प्राविधिक जनशक्तिको खाली दरबन्दी पुरा हुनसकेको छैन’,उनले भने, ‘यसले योजना सम्झौता देखि अनुगमनसम्मको पाटोमा असर गरिररहेको छ ।’ ६ जना प्राविधिकले करिब २ सय योजनाको सर्वे, प्रतिवेदन तयार र अनुगमन गर्दा समय अभावले बजेट फ्रिज हुने गरेको छ ।
जिल्लामा राजनीतिक दलहरुले आफ्ना कार्यकर्ताका मागलाई सम्बोधन गर्न टुक्रे योजनालाई प्राथामिकता दिंदा प्राविधिक कार्यसम्पादन गर्न समस्या देखिदै गएको छ ।

निश्चित समयभित्र योजना सम्पन्न गर्न उपलब्ध जनशक्तिको अधिकतम प्रयोग गर्न कार्ययोजना नै बनाएर अघि बढेको जिल्ला इञ्जिनियर श्रेष्ठको भनाई छ । ‘सबै प्राविधिकहरुलाई योजनाको नाम र स्थान तोकेर जिम्मा दिईएका छौँ । भौगोलिक जटिलताका कारण पनि प्राविधिकहरुलाई समस्या उत्पन्न हुने गरेको छ’,उनले भने, ‘जसरी पनि सक्नुपर्ने बाध्यताले हामी निरन्तर खटेका छौँ ।’ निर्वाचन क्षेत्र विशेष कार्यक्रमलाई प्राप्त हुने ३ करोड रुपैयाँका योजना सम्पन्न गराउन सरकारले करारमा इञ्जिनियर र सबइञ्जिनियरको दरबन्दीको व्यवस्था गरेपनि पदपुर्तिका लागि प्रक्रिया लम्बिएको थियो ।

‘यसका लागि उम्मेद्वार नै नआउँदा दुईपटक विज्ञापन गर्नुपर्ने अवस्था आयो’, जिल्ला इञ्जिनियर श्रेष्ठले भने, ‘एकहप्ता भो हामीले नियुक्ती दिएर खटाएको ।’ कम्तिमा १० लाख रुपैयाँ भन्दा तलका योजना बनाउन नपाउने प्रावधान रहेको निर्वाचन क्षेत्र विशेषमा अहिले २४ वटा योजना रहेको जिविसले जनाएको छ । प्राविधिक जनशक्ति अभावमा योजनाहरु समयमै सम्झौता हुन नसकेको योजना शाखाका खरिदार चन्द्रदत्त शर्माले जानकारी दिए । ‘प्राविधिकले सर्भे नगर्दै योजना सम्झौता हुदैनन्, सम्झौतापछि उनीहरुलाई पेश्की रकम पनि चाहिन्छ’,उनले भने, ‘विगतको तुलनामा योजनाहरु पनि बढेका छन् ।’

जिविसमा ५० हजार देखि ५० लाख रुपैयाँसम्मका योजना छन् । योजना शाखाका अनुसार, सम्झौता भएका ३४ मध्ये २९ योजना सम्पन्न पनि भइसकेका छन् । यसका दशैतिहार सिजनमा सडक मर्मतसम्भार गरिएका योजना समावेश छन् । स्थानीय विकास अधिकारी प्रेमराज गिरिले उपलब्ध प्राविधिकहरुले कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए । ‘विगतमा काम सम्पन्न गर्नका लागि करारमा केहि प्राविधिक नियुक्ती गर्ने प्रावधान रहेछ । कामको चाप भयो भने अहिले यो विकल्प अपनाउन सकिन्छ’, उनले भने ।