रत्नेचौरमा एक यूवा मृत भेटिए

0
189

बेनी नगरपालिका–१ रत्नेचौरमा एक यूवा मृत अवस्थामा फेला परेका छन् । गत माघ २१ गते विहान घरबाट बाहिर निस्किएका २४ बर्षिय कृष्ण थापा गाउँकै गणेश मन्दिर नजिक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मानसिक समस्याका कारण नियमित औषधी सेवन गरिरहेका थापाले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार २१ गते बेपत्ता भएपछि आफन्तले प्रहरीलाई खोजीकार्यका लागि अनुरोध गरेका थिए । जिल्ला प्रहरी कार्यालय र रत्नेचौर प्रहरी चौकीबाट खोजीकार्य गर्ने क्रममा टाउकोमा चोट लागेको र खुट्टा भाचिएको अवस्थामा फेला पारेका थिए । मृतकको सोमबार जिल्ला अस्पताल म्याग्दीमा पोष्टमार्टम गरी अन्तेष्टी गरिएको छ ।

विदेशबाट आएका दाजुको विवाहको रमझममा रमाइरहेका आफन्त थापाको मृत्युले शोकमा डुवेका छन् । नियमित औषधी सेवन गरिरहेका मृतकले पाटन अस्पतालमा समेत नियमित उपचार गराइरहेका थिए । पोष्टमार्टमको रिर्पोट आउन बाँकी रहेपनि उनले आत्महत्या गरेको अनुमान चिकित्सकले समेत गरेका छन् ।