प्रस्तावित धौलागिरि गाउँपालिका केन्द्रको अस्थायी केन्द्र मुनालाई तोकेको खुसीयालीमा विभिन्न पाँच गाविसबाट धन्यवाद सहित स्थायी केन्द्रको माग गदैं सदरमुकाम बेनीमा ज्ञापनपत्र बुझाएका छन् । मुना, मुदी, लुलाङ, गुर्जा, मल्कवाङ र मराङका प्रतिनिधिहरुका साथै मुनाबासीले गाउँपालिकाको केन्द्रमा स्वागत गर्न आतुर रहेको सन्देश जिल्ला प्रशासन कार्यालय, जिविसलाई ज्ञापनपत्र बुझाएका छन् ।

जिल्लाको अति विकट गुर्जा सहित गाउँपालिकामा समावेश गरिएका गाविसबासीको मागलाई मध्यनजर गदै अस्थायी केन्द्र तोकिएपनि त्यसलाई तत्कालै स्थायीमा रुपान्तरण गर्न माग गदैं प्लेकार्ड, ब्यानर सहितको दवावमुलक कार्यक्रम समेत गरिएको थियो । गाउँबाटै सवारीसाधनको प्रयोग गरेर आएका गाउँलेले सुगमताका साथै आवश्यक पुर्वाधार विस्तारमा समेत जनताले जनश्रमदान सहित जग्गा उपलब्ध गराउन तयार भएको बताउँदै जनताको मागलाई सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

कमल छन्त्याल, रेशम पुन, बम बहादुर पाईजा, मगर, देबेन्द्र रोका, याम बहादुर भण्डारी र मोतीप्रसाद पाईजा लगाएत स्थानीय राजनीतिक, सामाजिक लगाएतका संघसंस्थाको अगुवाईमा आएको टोलीले सडकमा अवरोध गर्ने तथा त्रसित गराउने प्रयास भएकोमा गम्भीर आपत्ती जनाउँदै गाउँपालिकाका विभिन्न गाविसलाई छुटै सडक सञ्जालको विस्तारमा बाध्यकारी बनाउन खोजीको आरोप समेत लगाएका थिए । ‘पिछडिएको बर्ग र समुदायलाई मुना गाउँपालिका उपयुक्त छ’,‘अस्थायीलाई स्थायी बनाउ’, ‘धौलागिरि गाउँपालिकाको केन्द्र मुनामा स्वागत छ’ लगाएतका प्लेकार्ड सहित यूवा,महिला देखी बृद्धबृद्धासम्म सदरमुकामा आएका थिए। ‘गाउँपालिकाको केन्द्रको पुर्नविचारको निर्णयको कल्पना पनि गर्न सकिदैन् ।

प्रस्तावित सबैजसो गाविसहरु मुनामा केन्द्र हुनुपर्छ भन्नेमा मत दिएका छन्’ मुनाका यूवा रेशम पुनले बेनीअनलाइनलाई भने । उनले अवरोधको प्रयास भइरहेको बताउँदै अति गरे प्रतिकारमा जनता उत्रिन बाध्य हुने चेतावनी समेत दिए । बाटोमा भएको अवरोध बारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउँदै शान्ति सुरक्षाको माग समेत मुनाबासीले गरेका थिए । ज्ञापनपत्र सहित मुनाबासीले केन्द्रमा आउँदा लाग्ने समय तालिकाका बारेमा समेत हालै जिल्लामा आएका प्रजिअलाई जानकारी गराएका थिए ।

गत माघ महिनाको पहिलो साता ताकम गाविसलाई धौलागिरि गाउँपालिकाको केन्द्र तोक्न माग गदैं ताकमबासीले सदरमुकाम बेनीमा दवावमुलक कार्यक्रम गरेका थिए । प्रशासनिक सुगमता, भौगोलिक बनावट, प्राकृतिक सम्पदा लगायत मापदण्डका आधारहरु आयोगले तोकेपनि मापदण्ड विपरित मुनालाई केन्द्र बनाइएको आरोप सहित ताकमबासीले सदरमुकाममा शक्ती प्रर्दशन गरेपछि मुना केन्द्रका पक्षमा रहेका गाविसबासी आक्रोशित भएका थिए ।

गत कात्तिम १९ गते शुक्रबार स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले गलेश्वरको एक होटलमा गरेको संख्या र सिमाना निर्धारण सम्बन्धि गोष्ठीमा एक नगरपालिका र ५ गाउँपालिका मध्ये तीनवटा गाउँपालिकाको केन्द्रमा सहमति भएपनि धौलागिरि र रघुगंगा गाउँपालिकाको केन्द्रमा राजनीतिक दल विच विवाद भएपछि धौवलागरिको ताकम र मुना र रघुगंगा गाउँपालिकाको केन्द्र पिप्लेको मौवाफाँट र पाखापानी गाविसलाई प्रस्ताव गरिएको थियो ।आयोगले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा धौलागिरिको अस्थायी केन्द्र मुना र रघुगंगा गाउँपालिकाको पाखापानी उल्लेख भएको जानकारी पाएपछि पक्ष र विपक्षमा आन्दोलन चर्किएको छ ।

म्याग्दीबाट बेनी नगरपालिकामा पात्लेखेत र भकिम्ली गाविसलाई समावेश गदैं मंगला गाउँपालिकामा बावियाचौर, कुहुँ,,बरंजा,अर्मन गाविस, मंगला गाउँपालिकामा दरवाङ, निस्कोट, रूम,ओखरबोट, बिम र देविस्थान गाविस, धौलागिरि गाउँपालिकामा ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङ गाविस, रघुगंगा गाउँपालिकामा पिप्ले, भगवती, दग्नाम, चिमखोला, कुईनेमंगले, पाखाापानी, झिँ र बेगखोला गाविस र राम्चे, शिख, घार, हिस्तान, देवा, भुरुङतातोपानी, नारच्याङ, दाना गाविसको केन्द्र पोखरेबगर तोकिएको छ ।