म्याग्दीमा राप्रपा कमजोर छैन :गौचन

0
459

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य भिमप्रसाद गौचनले जिल्लामा पार्टी कमजोर नभएको बताएका छन् । मंगलबार बेनीमा सम्पन्न एकतापछिको पहिलो अधिवेशनको उद्घाटन गदैं पुर्व राज्यमन्त्री समेत रहेका गौचनले देस्रो संविधान सभाको निर्वाचनमा आफ्नो पक्षमा जनमत हुदाँहुदै विरामी परेपछि विभिन्न गाविसमा पुग्न नसकेको बताउँदै बेनी नगरपालिका र ३५ गाविसमा राप्रपालाई बलियो बनाउन संगठन विस्तार सहितको अभियान सञ्चालन गरिने बताए ।

गौचनले नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने एजेण्डा सहित राप्रपा चुनावमा जाने समेत बताए । उनले जवरजस्ती धर्म परिवर्तनलाई सहर देखी गाउँसम्म रोक्ने बताउँदै तत्काल स्थानीय निकायको निर्वाचनको मिति तोक्न समेत माग गरेका छन् । ठुला दलले नेपाली जनताको भावना विपरित हिन्दुराष्ट्रको पहिचानलाई मेट्ने प्रयास गरेको बताउँदै चुनावी एजेण्डामा हिन्दुराष्ट्रको पक्षमा जनताले मत दिने समेत दावी गरे ।

उनले म्याग्दी जिल्लाको सम्रग विकास आफ्नो नेतृत्वमा भएको दावी गदैं गाउँमा जनताले समेत त्यस्तै अनुभुती गरेको बताए । अधिवेशनको अवसरमा केन्द्रिय सदस्य तथा पुर्व सहायक मन्त्री जगतप्रसाद गौचनले राप्रपा र राप्रपा नेपालको एकतापछि हुन लागेको महाधिवेशन र आगामी निर्वाचनबाट राप्रपा देशकै बैकल्पीक राजनितिक शक्तिको रुपमा स्थापित हुने घोषणा गरे । उनले जिल्लामा कमजोर रहेको क्षेत्रको पहिचान गरी संगठन विस्तार सहितको योजनाहरु समेत पार्टीले बनाउने बताए ।

जिल्ला अध्यक्ष एकेन्द्र रावलको अध्यक्षता, प्रवत्ता हरिप्रसाद शर्माको सञ्चालन र सहअध्यक्ष पहलबहादुर खत्रीले स्वागत गरेका थिए । कार्यक्रममा जगतप्रसाद गौचन, दलित संगठनका बलबहादुर सुनार, महिला संगठनका अध्यक्ष अनु पुन, पार्षद प्रतिनिधि मोहन बानियाँ लगायतले मन्तव्य गरेका थिए । यसैविच एकताको अधिवेशनबाट बिरबहादुर थापा क्षेत्रीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । भकिम्ली–२ मरेकमा जन्मिएका थापा २०४६ सालदेखी राप्रपामा सक्रिय भएका थिए । २०६५ सालमा जिल्लाको सहसचिव, २०७१ सालमा उपाध्यक्ष हुदै अध्यक्ष भएका थापा विकासप्रेमी र सहकार्य गर्न सक्ने नेताका रुपमा समेत जिल्लामा स्थापित छन्।

राजनीति संगै गाउँमा कृषि पेशामा समेत आवद्ध रहेका थापाको नेतृत्वमा बनेको नयाँ कार्यसमिति सदस्यहरुमा भिमप्रसाद गौचन, जगतप्रसाद गौचन, जगतनारायण गौचन, एकेन्द्रबहादुर रावल, पहलबहादुर खत्री, हरिप्रसाद शर्मा, बिनोद भट्टचन, चन्द्रबहादुर कुँवर, योगेन्द्रमान शेरचन, डम्मरबहादुर सुवेदी, टेकबहादुर कार्की, सञ्जु बरुवाल, सुमित्रा केसी, भिमबहादुर केसी, दलकेशर बानिया र रुपनारायण श्रेष्ठ रहेका छन् । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचिन समितिका संयोजक भरत खत्रीले सपथ ग्रहण गराएका थिए ।