यातायात व्यवसायीले नगरक्षेत्रभित्र काउण्टर सञ्चालन गरे बापत बेनी नगरपालिकालाई तिनुपर्ने ५ लाख रुपैयाँ भन्दा बढी कर बर्षौदेखि नतिरेको पाईएको छ । नगर क्षेत्रमा लामो समयदेखि सार्वजनिक जग्गा प्रयोग गरेबापतको रकम तिर्न व्यवसायीले आलटाल गरेपछि पौष २६ गते नगरपालिका र यातायात व्यवसायीहरु बीचको वैठकमा एकहप्ताभित्र बक्यौक्ता रकम भुक्तानी गर्ने सहमति भएपनि व्यवसायीहरुले अहिलेसम्म उक्त सहमति पालना गरेका छैनन् ।

यातायात व्यवसायीहरुको आग्रहमा तत्कालीन अर्थुङे गाविस भएदेखि नै बजार क्षेत्रका विभिन्न स्थानमा काउण्टर सञ्चालनका लागि अनुमति दिदै आएको छ । गाविस नगरपालिकामा समावेश भएपछि नगरपालिकाले नियमित रुपमा कर तिर्न व्यवसायीहरुलाई आग्रह गरेको थियो । जिल्लाभित्रै सञ्चालन हुने र देशका विभिन्न भागमा सञ्चालन हुने गरि ६ भन्दा बढी यातायात व्यवसायी समितिले कालीपुल बसपार्क, नगरपालिका अघि र बहुउद्देश्यीय मैदानमा काउण्टर सञ्चालन गरेको छ ।

नगरपालिकाले दिएको जानकारी अनुसार, म्याग्दी जिप तथा बस सञ्चालक समितिको सबैभन्दा बढी २ लाख रुपैयाँ कर तिर्न बाँकी देखिएको छ । केहि रकम तिरेपनि दुईवटा काउण्टर सञ्चालन गर्दै आएको म्याग्दी समितिले पुस मसान्तसम्म उक्त रकम तिर्न बाँकी देखिएको हो । त्यस्तै, धौलागिरि अञ्चल यातायात समितिको नाममा ९० हजार रुपैयाँ बक्यौता देखिएको छ ।

उसले केहि दिन अघि मात्रै १ लाख रुपैयाँ कर तिरेपनि चुक्ता गर्न सकेको छैन । म्याग्दी ट्याक्सी व्यवसायी समितिले एक लाख रुपैयाँ, पोखरा–बागलुङ ट्याक्सी इकाई समितिको २० हजार, संयुक्त यातायातको २५ हजार रुपैयाँ, मध्यमाञ्चल बस व्यवसायी समितिले २५ हजार रुपैयाँ कर तिर्न बाँकी देखिएको छ । भगवति यातायात व्यवसायी र म्याग्दीकाली जिप समितिले नियमित रुपमा कर बुझाउँदै आएको नगरपालिकाको राजश्व शाखाले जनाएको छ । नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले बर्षौदेखि कर तिर्न बाँकी देखिएपछि व्यवसायीहरुसंग छलफल गरिएको जानकारी दिए ।

‘छलफलमा उहाँहरु एकदमै सकरात्मक हुनुभयो । एकहप्ता भित्रै तिर्न सहमत हुनुभयो’, उनले भने, ‘तर, अझै केहिले आलटाल गरिरहेका छन् ।’ केहि यातायात समितिहरुले नगरपालिकाको अनुमति बिना नै काउण्टर सञ्चालन गरिएको पाईएको छ । देशका विभिन्न भागमा जाने यात्रु बोक्न यातायात व्यवसायी बीच प्रतिस्पर्धा नै चल्ने गरेको छ । यसको फाइदा यात्रुले लिईरहेका छन् । ‘अनुमति बिना सञ्चालनमा रहेका काउण्टरहरु अहिलेसम्म छैन । त्यस्तो भए तत्काल कारबाही थाल्छौँ’, कार्यकारी अधिकृत सुवेदीले भने ।

विज्ञापन