जिल्लाकोे बावियाचौर–३ खुम्ल्याका योगनाथ शर्माले गोठमा पालेको भैसी विक्री गरेर श्रीमतिको उपचारमा खर्च गरे । एकबर्ष अगाडी ५० बर्षिया श्रीमति टिका कुमारीको मृगौलामा समस्या देखिएपछि उपचारमा उनले घरमा भएको पशुचौपाया विक्रीका साथै आफन्त, छिमेकीबाट २ लाखभन्दा बढी ऋण समेत लिएका थिए ।गाउँकै विपन्न परिवारका शर्माले पशुचौपाया र अन्नपातलाई समेत श्रीमतिको उपचारमा खर्च गरेपनि अझै रकम अभाव भएको बताए । ‘अव एउटा भैसी र केही खेतका फोटा छन् ।त्यसलाईपनि विक्री गरेर थप उपचारमै खर्च गर्ने प्रयास गरिरहेको छु’ शर्माले भने ।

गतबर्षको असारमा लगातार विरामी भएपछि उपचारको क्रममा चिकित्सकले मृगौलामा पत्थरी भएको र मृगौलाले समेत काम नगरेको बताएपछि अञ्चल भित्रका सबै अस्पताल, पोखराको मणिपाल, गण्डकी र काठमाण्डौको ओम हस्पिटलमा पुगेर उपचारमा खर्च गरेको बताए । ‘घरको सबै सम्पत्ती बेच्दा समेत श्रीमतिको उपचारमा खर्च पुग्दैन् । बालबच्चालाईको समेच विजोग भएको छ’ शर्माले भने । बेनी–कुहुँ ग्रामिण सडक नजिक रहेको शर्माको घरमा ऋण दिएका साहुले समेत ताकेता लगाउन थालेपछि समस्यामा परेको गुनासो गरे । ‘अस्पतालमै पैसा सकिएपछि थप उपचार नै छोडेर घर फर्किए । अहिले उपचारमा सहयोग खोजीरहेको छु’ उनले भने ।

६ छोरी, एक छोरा मध्ये दुईवटा छोरी र एक छोराको शिक्षा–दिक्षाका साथै घरायसी खर्च चलाउन समेत मुस्किल भएको बताउँदै थप उपचारमा सहयोको बिलौना समेत गरेका छन् । ‘सरकारले उपलब्ध गराएको नशिुल्क सेवा खोज्न जाँदा स्वास्थ्यकर्मीले हप्काउँछन् । तीनपटक डायलायसिस समेत ऋण खोजेर गरे’ शर्माले भने । उनले निशुल्क सेवाका बारेमा जिज्ञासा राख्दा समेत स्वास्थ्यकर्मीले अमानवीय र तुच्छ ब्यवहार गर्ने गरेको बताउँदै घनी, बजारमा बस्नेहरुलाई मात्रै निशुल्क सेवा भएको आरोप समेत लगाए । घरको सम्पत्ती बेचेर कंगाल हुदाँ समेत निशुल्क सरकारी सेवा प्रयोग गर्न नपाएको शर्माको गुनासो थियो ।

आफ्नो श्रीमति जस्ता धेरै आर्थिक अवस्था कमजोर भएका विरामीहरू अस्पतालमै अलपत्र देखेको बताउँदै राज्यको निशुल्क सेवा कागजमा मात्रै सिमित भएको समेत बताए । उनले पोखराको मनिपालमा स्वास्थ्यकर्मीले निशुल्क सेवाका बारेमा जिज्ञासा राख्दा यो त नाम मात्रको सेवा भन्दै पैसा तिनुपर्छ भनेपछि आफुँले पोखरामा रहेका आफन्तबाट ऋण लिएर उपचार गराएर घर फर्किएको बताए ।

‘हामी गरिवको नाममा भएको निशुल्क सेवाहरु धनीले प्रयोग गरिरहेका छन् । यस्ता समस्यालाई समाधान गरिदिनुप¥यो’ समस्या पोख्दै शर्माले भने । उनले गरिव तथा विपन्न परिवार भएकै कारण श्रीमतिको मृगौला प्रत्यारोपणका लागी आफुँले मृगौला दिन तयार भएपनि थप रकमको समस्या भएको शर्माको गुनासो थियो ।

उनले टिभी र रेडियोमा स्वास्थ्यमन्त्री गगन थापाको भाषण सुन्ने गरेको भएपनि उहाँले बोले अनु्सारको सेवा प्राप्त गर्न नसकेका । ‘गरिव जनताका लागि कहिले बन्छ सरकार । कहिल्य हुन्छ सहज सुविधा?’ आक्रोश पोख्दै शर्माले भने । उपचारमा २ लाख १५ हजार भन्दा धेरै खर्च भएपछि अझै मृगौला प्रत्यारोपण सहितको सेवासुविधामा समेत खर्च हुने भन्दै रकम जुटाएर आउन चिकित्सकले अनुरोध गरेपछि घरमा फर्किएको शर्माको भनाई छ ।

यसैविच जिल्ला अस्पताल म्याग्दीका प्रमुख डा. रोशन न्यौपानेले जिल्लामा रहेको विपन्न नागरिक सिफारिस समितिले राज्यले प्रदान गर्ने निशुल्क सेवा सुविधाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सहयोग सङ्कलन अभियान सञ्चालनको घोषणा गरेको छ । म्याग्दीको बावियाचौर–३ खुम्ल्याकामा मृगौलापिडित टिका कुमारीसंगै परिवार ।