(धु्रबसागर शर्मा)
सामाजिक अभियन्ता महाविर पुनले सुरु गरेको राष्ट्रिय आविष्कार केन्द्र खोल्ने अभियानमा ६ महिनाको अबधीमा २ करोड रुपैयाँ संकलन भएको छ । राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि ५० करोड रुपैयाँ उठाउने लक्ष्यका साथ गत साउनदेखि सुरु गरेको ‘महादान अभियान’ अन्तर्गत सरकारी सहयोग बाहेक नै देश विदेशमा रहेका नेपालीहरुबाट ६ महिनाको अवधीमा सो रकम संकलन भएको हो ।

अहिलेसम्म आफूले कसैलाई पनि सहयोगका लागि पत्राचार वा आग्रह नगरेको र स्वतस्फुर्त रुपमा सो रकम संकलन भएको बताउने सामजिक अभियन्ता पुनले अव भने देश विदेशमा रहेका नेपालीहरुलाई पत्राचार नै गर्ने जानकारी दिनुभएको छ ।‘सार्वजनिक रुपमा गरिएको आह्वानबाट नै दुई करोड सहयोग प्राप्त भयो,अव पत्राचार गरेर औपचारिक रुपमा नै सहयोगको आग्रह गर्छु’ पुनले भन्नुभयो ।

सामाजिक अभियन्ता पुनका अनुसार प्राप्त रकममध्ये धेरै रकम विदेशमा वस्ने नेपालीहरुबाट संकलन भएको छ । सबैभन्दा बढी प्रवासी नेपाली संघ (मोना), हङकङले एकमुष्ट ५७ लाख ४९ हजार २ सय ९६ रूपैयाँ सहयोग गरेको पुनले जानकारी दिनुभयो ।रकम हिमालयन र एभरेष्ट बैंकमा रहेको खातामा जम्मा भइरहेको छ । अब भने एक वर्ष भित्रमा पचास करोड रूपैयाँ संकलन गर्न पुनले अभियानलाई व्यापक बनाउन सुरु गरेको बताउनुभयो ।

‘अब हामी घरघरमा जान्छौं, ढोका–ढोकामा पुग्छौं,’ पुनले भन्नुभयोे, ’विदेशमा पनि बोलाएको ठाउँमा जाने योजना बनाइरहेको छु ।’ पचास करोड रुपैयाँ जुटाएर जलविद्युतमा लगानी गर्ने र जलविद्युतबाट हुने आम्दानीलाई राष्ट्रिय आविष्कार केन्द्रका लागि प्रयोग गर्ने योजना पुनको रहेको छ । जिल्लाको राम्चे गाविसस्थित नांगीमा जन्मिएका पुन अमेरिकामा उच्च शिक्षा हासिल गरेपछि बेतारे इन्टनेटर मार्फत दुर्गम क्षेत्रमा इन्टरनेट, टेलिमेडिसिन, कृषि, पर्यटन लगाएतका क्षेत्रमा सक्रिय रहनुभएको छ ।

सन् २००७ मा एशियाको नोबेल पुरस्कार भनेर समेत चिनिने म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टीको ठुलाकोट भन्ने डाँडामा २० बर्ष अगाडी खरिद गरेको २८ रोपनी समेत केन्द्रको स्थापनामा प्रयोग गर्ने घोषणा गर्नुभएको थियो । आफ्नो जन्मभूमीका शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनका साथै बेतारे इन्टरनेटमार्फत जनतालाई सुचना र प्रविधिको विस्तार गरेका पुनले केन्द्रमार्फत विद्युत उत्पादनका लागि तत्काल ५० करोड संकलन गरी बाँकी बैंकको ऋणबाट विद्युतगृह निर्माण संगै केन्द्रले खोज तथा अनुसन्धानका कामलाई समेत निरन्तरता बताउँदै आइरहनुभएको छ ।

विज्ञापन