गाउँका बूढापाकाको दिनचर्या : जन्त,मलामा र खेतीपातीमा

0

लाहुरेको जिल्लाका रूपमा परिचित म्याग्दीमा युवा धमाधम विदेश पलायन हुन थालेपछि यहाँका बूढापाकाहरुको दिनचर्या जन्त,मलामा र खेतीपातीका काममा वित्ने गरेको छ ।छोरानातीहरुलाई काममा खटाएर आफूले आराम गर्नु पर्ने उमेरका बूढापाकाहरु हुर्के बढेपछि छोरानाति विदेशतिर जाने हुँदा गाउँमा आइपर्ने संस्कारजन्य गतिविधिदेखि लिएर घरगृहस्थी र खेतीपातीको कामसमेत सम्हाल्दै आएका छन् ।

वैदेशिक रोजगारीतर्फको आकर्षणका कारण युवा विदेसिने क्रम बढेसँगै साह्रोगाह्रो पर्दा गाउँघरमा सरसहयोग गर्ने युवा नहुँदा वृद्धवृद्धालाई समस्या उत्पन्न भएको बेनीनगरपालिका–४ का टेकवहादुर कार्कीले बताउनुभयो । “गाउँ युवाविहीन भएपछि नरमाइलो हुँदो रहेछ”–७० वर्षीय कार्कीले भन्नुभयो–“साह्रोगाह्रो पर्दा सहयोग गर्ने कोही पाइँदैन ।” “पर्दा जन्ती र मर्दा मलामी जाने युवाहरु पनि छैनन्,खेतवारीको काममा खेताला पनि पाइँदैनन, त्यसैले जतापनि आँफै अघि नसरी हुँदैहुँदैैन,” कार्कीले भन्नुभयो ।

त्यसैगरी खेतबारीमा काम गर्ने जनशक्ति पाइन छाडेपछि जमिन बाँझो हुन थालेको छ । म्याग्दीमा मकै, कोदो, जौ र उवा खेती हुने जमिन १० देखि १५ प्रतिशत बाँझो बनेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । २ लाख १३ हजार ६ सय जनसङ्ख्या रहेको म्याग्दीका २० हजारभन्दा बढी युवा विदेसिएका छन् । गाउँघरका खेतीयोग्य जमिन बाँझो बस्ने क्रमसँगै आयातीत खाद्यान्नमा परनिर्भरता बढ्दै गएको छ । जमिन बाँझो बन्न नदिन अन्नबालीको विकल्पमा कृषकलाई सुन्तला जात, आलुलगायत तरकारी खेती गर्न उत्प्रेरित गराउन थालिएको कृषि विकास कार्यालयले जनाएको छ ।(धु्रबसागर शर्मा)