राहुघाट क्षेत्र अन्र्तगतका विभिन्न गाविसको भ्रमण सकेर सदरमुकाम बेनी आएका सांसद रेशम बहादुर बानियाँले सडक, सञ्चार, विद्युत, शिक्षा लगाएतका आवश्यक पुर्वाधार विस्तारमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

बिहिबार सदरमुकाम बेनीमा नेपाल प्रेस यूनियन म्याग्दीले गरेको साक्षात्कार कार्यक्रममा प्रस्तावित रघुगंगा गाउँपालिका अन्र्तरगतका पिप्ले, दग्नाम, चिमखोला, कुईनेमंगले गाविसको भ्रमण गरेर फर्किएका सांसद बानियाँले जनताको विकासमा देखाएको चासोबाट उत्साहित भएको बताए । ‘धेरै पूर्वाधारहरू जनश्रमदानबाटै बनिरहेका छन् । जनसहभागितालाई सघाउन समेत तत्कालै केही काम गर्नुपर्छ‘ बानियाँले भने ।

उनले चिमखोला, कुईनेमंगले गाविसका जनताको सडकमै गाउँमा पुग्ने चाहना, केन्द्रिय विद्युत लाइनको विस्तार, विद्यालयमा आवश्यक दरबन्दी, खानेपानी, दुरसञ्चार सेवा प्रदायक संस्थाको सेवामा गुणस्तरीयता लगाएतका मागहरू रहेको बताए । ‘ जनताले स्थानीय निकाय पुर्नसंरचनाको क्रममा समेत आफ्नो असन्तुष्ट जनाएको अवस्थामा जनतालाई सन्तुष्ट बनाउने गरी निर्णय गर्नुपर्ने बताउँदै स्थानीय निकायको चुनावमा सहभागि हुन आतुर रहेको समेत सांसद बानियाँको भनाई छ ।

जिल्लामा विद्युत उत्पादनमा प्रचुर सम्भावनाका साथै कुईनेमंगले गाविस–४ पात्लेखर्कमा धौलागिरि हिमालको फेदैमा अवस्थित ‘हिमालका देवता’को बासस्थान मानिने पर्यटकीय तथा धार्मिकस्थल रिखार मन्दिरको समेत प्रचारप्रसारमा जनताले राज्यका निकायबाट बजेटको अपेक्षा गरेको बताए । जनताले सडक, विद्यालय, खानेपानी लगाएतका आधारभुत आवश्यकतामा ब्यक्तिगत रुपमै लाखौं खर्च गरेर राज्यलाई चुनौती समेत दिएको समेत उनको भनाई छ ।

राजनीतिक दलका नेताहरुको समेत कम प्राथमिकतामा परेको भन्दै सार्वजनिक कार्यक्रममा समेत आक्रोश पेख्ने क्षेत्रका भ्रमण गरेर फर्किएका सांसदलाई जनताले भब्य स्वागतका साथै आफ्ना समस्यालाई समेत जिल्ला देखी केन्द्रसम्म सम्बोधन गर्ने गरी वातावरण बनाउन समेत माग गरेका थिए ।यसअगाडी अन्नपुर्ण गाउँपालिका अन्र्तगतका विभिन्न गाविसमा पुगेर फर्किएका बानियाँले त्यहाँको समस्यालाई सम्बन्धित कार्यालय र मन्त्रालयमा पेश गदैं बजेटको माग गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गुर्बजा, सचिव हरिकुमार श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

विज्ञापन