नेकपा (माओवादी) का प्रभावशाली नेता तथा स्थायी समितिका सदस्य धर्मेन्द्र बाँस्तोलाले जनबादी राज्यसत्ता स्थापनाका लागि आफ्नो पार्टीले रोल्पाको थवाङबाट एकिकृत जनक्रान्तिको थालनी गर्ने बताउनुभएको छ ।

शुक्रवारदेखि म्याग्दीको सदरमुकाम बेनीमा सुरु भएको नेकपा (माओबादी) म्याग्दीको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता बाँस्तोलाले सो कुरा बताउनुभएको हो । नेता बाँस्तोलाले सामान्ती राज्य सत्ता ढलेर अहिले दलाल राज्य सत्ता स्थापना भएकाले क्रान्तिको माध्यमबाट जनवादी सत्ता स्थापना गर्न माओबादीले एकिकृत जनक्रान्तिको कार्यदिशा ल्याएको हो भन्नुभयो ।

उहाँले मुलुकलाई आर्थिक समृद्धि तिर लैजानका लागि दलाल राज्यसत्ता बाधक रहेकाले क्रान्तिकारी आन्दोलनबाट जनवादी राज्यसत्ता स्थापना गर्न माओबादीले थवाङबाट उद्घोष गर्ने बताउनुभयो । ‘हामी दलाल राज्य सत्ताको केन्द्र काठमाण्डौमा महाअधिवेशनको उद्घाटन गरेर जनक्रान्तिको लाल किल्ला रोल्पाको थवाङमा बन्द सत्र गर्दैछौं’ नेता बाँस्तोलाले भन्नुभयो, ‘पार्टीले थवाङबाट एकिकृत जनक्रान्तिको ढोका खोल्ने छ ।’

नेता बाँस्तोलाले वर्तमान राज्यसत्ताले जनताका आकांक्षाहरु पुरा गर्न नसक्ने बताउँदै मुलुकमा जनक्रान्तिको आवश्यकता भएको दाबी गर्नुभयो । फागुन १ गते काठमाण्डौमा उद्घाटन भएर रोल्पाको थवाङमा हुने महाअधिवेशनले अधुरो रहेको नेपाली क्रान्तिको कार्यभारलाई विजयी गराउन एकिकृत जनक्रान्तिको कार्यदिशालाई स्थापित गर्ने उहाँको भनाई थियो । संसदवादी पार्टीहरुले जारी गरेको नयाँ संविधानले जनतालाई अधिकार सम्पन्न गर्न नसक्ने हुँदा क्रान्तिको बलबाट जनवादी संविधान निर्माण गर्नुपर्ने नेता बाँस्तोलाको भनाई थियो ।

नयाँ जनवादी राज्य सत्ता स्थापना गर्नका लागि छरिएर रहेका माओबादीहरु एकजुट भएको बताउँदै नेता वाँस्तोलाले देशभर एकलाख पार्टी सदस्य रहेको दावी गर्नुभयो । सम्मेलनमा केन्द्रिय सदस्य ध्रुव घिमिरे (विप्लव),धौलागिरि व्यूरो इन्चार्ज पारसमणि र माओबादी बागलुङ जिल्ला सदस्य अनन्तले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

जिल्ला सचिव गमवहादुर श्रीसमगरको अध्यक्षता, अखिल नेपाल महिला संघ क्रान्तिकारी धौलागिरि संयोजक उषा घर्तिको स्वागत र सञ्चालन सचिवालय सदस्य पदम पुनले गर्नुभएको थियो ।दुइ दिन सम्म चल्ने सम्मेलनमा जिल्लाका सवै गाविस तथा नगरपालिकाबाट करिव एकसय जना प्रतिनिधिहरु सहभागि रहको माओबादीले जनाएको छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नुका साथै महाअधिवेशन प्रतिनिधिहरुको छनौट गर्ने सचिव श्रीसमगरले बताउनुभयो । धु्रबसागर शर्मा/रासस