युवा संघको भलिबलमा सेमिफाइनल र फाइनल बाँकी

0
141

म्याग्दीको सदरमुकाम बेनीस्थित खुलामञ्चमा सञ्चालित गाविस तथा नगर वडास्तरीय भलिबल प्रतियोगिताको क्वाटरफाइनलका खेलहरु शुक्रबार सकिएका छन् ।‘न्यायप्रेमी युवाहरु युवा संघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मूल नारासहित युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीद्वारा आयोजित प्रतियोगिताको चौँथो दिन पुरुषतर्फ क्वाटरफाइनल तथा महिलातर्फका सेमिफाइनलका खेल सम्पन्न भएका हुन् ।

शुक्रबार सम्पन्न पुरुष भलिबलतर्फ बेनी नगरपालिका–११ लाई बाबियाचौर गाविसले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै पिप्ले गाविसलाई पराजित गर्दै अर्मन गाविस तथा बेनी नगरपालिका–१३ ले नारच्याङलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका थिए । त्यसै गरी मल्कवाङलाई पराजित गर्दै बेनी नगरपालिका–१० क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

शुक्रवार भएको खेलमा अर्मन गाविसलाई पराजित गर्दै रुम गाविस तथा बेनी नगरपालिका–१० लाई पराजित गर्दै भगवती गाविस सेमिफाइनलमा प्रवेश गरेका छन् । त्यसै गरि बाबियाचौर गाविसलाई पराजित गर्दै बेनी नगरापिलका–९ तथा बेनी नगरपालिका–१३ लाई पराजित गर्दै बरंजा गाविस सेमिफाइनलमा प्रवेश गरेको युवा संघ जिल्ला कमिटी अध्यक्ष प्रविण शाहीले जानकारी दिनुभयो ।

त्यस्तै महिला भलिबलतर्फ लुलाङ गाविसलाई पराजित गर्दै नारच्याङ, अर्मन गाविसलाई पराजित गर्दै शिख गाविस तथा चिमखोला गाविसलाई पराजित गर्दै वेगखोला गाविस सेमिफाइनलमा प्रवेश गरेको कार्यक्रम संयोजक बाबुराम चोखालले बताउनु भयो । त्यसै गरी आजै भएको खेलमा शिख गाविसलाई पराजित गर्दै नारच्याङ गाविस तथा दाना गाविसलाई पराजित गर्दै बेगखोला गाविस फाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताबाट पुरुषतर्फ विजेता र उपविजेताले क्रमशः ७७ हजार ७ सय ७७, ४४ हजार ४ सय ४४, महिलातर्फ ५५ हजार ५ सय ५५ र ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ । त्यस्तै प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडी, ब्लकर, स्पाईकर, सर्भिसर, डिफेन्सरलगायतलाई नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिने युवा संघ म्याग्दीका प्रचार विभाग प्रमुख कमल बानियाँले बताउनुभयो । भलिबल प्रतियोगिता आगामी शनिबारसम्म सञ्चालन हुने बताइएको छ । कमल बानियाँ