(धु्रबसागर शर्मा)
समाजसेवा र परोपकारी क्षेत्रमा सक्रिय रहेका म्याग्दीका एक युवाले आफ्ना स्वर्गिय बुबाको स्मृतिमा सामाजिक अभियन्ता महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानलाई १७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गर्नुभएको छ । आजभन्दा १७ वर्ष अगाडी स्वर्गवास हुनुभएका बुबा धनसिं पुनको स्मृतिमा म्याग्दीको बरंजा घर भइ हाल बेनीमा बस्दै आउनुभएका लोकेस पुन मगरले राष्ट्रिय आविष्कार केन्द्रलाई सो रकम सहयोग गर्नुभएको हो ।

२०६९ सालदेखि बुबाको सम्झनामा परोपकारी र सामाजिक क्षेत्रलाई सहयोग गर्दै आउनु भएका लोकेस पुन मगर म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषमा आबद्ध हुनुहुन्छ । पुनले आफ्ना स्व.बुबाको सम्झनामा २०६९ सालमा जेसिज कप फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडीको लागि धमानसिं अवार्ड अक्षय कोष स्थापना गर्नुभएको छ ।

त्यसैगरी २०७० सालमा म्याग्दी बौद्ध संघको बौद्ध विहार र बरंजाको दह प्याला टोल सुधार समितिलाई आर्थिक सहयोग, २०७१ सालमा म्याग्दी अस्पताललाई २ थान बाफ मेसिन र म्याग्दीको धार्मिक स्थल महारानी थानलाई आर्थिक सहयोग गर्नुभएको थियो । त्यसैगरी २०७२ सालमा म्याग्दीका ४० जना गरिब तथा विपन्न विद्यार्थीहरुलाई २२ हजार मूल्य बराबरको शैक्षिक सामग्री सहयोग गर्नुभएको थियो । रासस