शिखमा निशूल्क आयूर्वेद स्वास्थ्य शिवीर

0
234

सन्तोष गौतम
म्याग्दीको शिखमा शनिबार सम्पन्न निशूल्क आयूर्वेद स्वास्थ्य शिवीरबाट साढे दुई सय जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बेनी र शिख गाविस कार्यालयले आयोजना गरेको शिवीरमा शिख, घार, पाउद्धार, खिवाङ, स्वाँत, किन्दु, चित्रे, फलाते लगायत गाउँका बासिन्दाले सेवा लिएका हुन् ।

नशा, बाथ, दम, खोकी, ग्यास्ट्रीक, आँखा, छाला, रक्तचाप, स्त्रीरोग लगायत समस्या भएका २६३ जना बिरामीहरुलाई स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सेवा उपलब्ध गराइएको केन्द्रका प्रमुख रमेश शर्मा भुषालले जानकारी दिनुभयो । ग्रामिण क्षेत्रका बासिन्दालाई स्थानीय स्तरमै सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिवीरको सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले उद्घाटन गर्नुभएको थियो ।

केन्द्रका प्रमुख भुषालको नेतृत्वमा चन्द्रदत्त आचार्य, लक्ष्मण शर्मा (चालीसे), सूर्यमणी शाह, सुरेन्द्र श्रेष्ठ, रणबहादुर खत्री लगायतको टोलीले शिवीरमा सेवा दिएको थियो । शिवीर उद्घाटन कार्यक्रममा सहायक प्रजिअ आचार्यले ग्रामिण क्षेत्रका बासिन्दाको स्वास्थ्य सेवामा पहुँच बढाउनुपर्ने बताउँदै सरकारी कार्यालयले पारदर्शी, सहज र सर्भसुलभ रुपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । शिख गाविसका सचिव खेमराज पौडेलको अध्यक्षता, शिख माविका शिक्षक बेगप्रसाद पुनको स्वागत र खेम पाईजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा आयूर्वेद केन्द्रका चन्द्रदत्त आचार्यले स्वागत र केन्द्रका प्रमुख रमेश शर्मा भुषालले मन्तब्य व्यक्त गर्नुभएको थियो ।