(सन्तोष गौतम)
नेकपा माओवादी केन्द्र म्याग्दीले आईतबार बेनीमा विभिन्न कार्यक्रम आयोजना गरेर २२ औ जनयुद्ध दिवस मनाएको छ ।वि.स २०५२ फागुन १ गते माओवादीले जनयुद्ध सुरु गरेको सम्झनामा बेनीमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेर दिवस मनाएको हो । सो कार्यक्रममा सहिदको तस्विरमा माल्यार्पणका गरेर स्मरण गरिएको थियो । २०५२ साल फागुन १ गते माओवादी नेताहरुले म्याग्दीको दानाको काभ्रेमा पर्चा टाँसेर जनयुद्ध सुरु भएको घोषणा गरेका थिए ।

जनताको अधिकार र मुक्तिका लागि हतियार सहित एक दशकसम्म चलेको जनयुद्ध वि.स २०६२र६३ को दोस्रो जनआन्दोलनसंगै शान्ति प्रक्रिया र संबिधानसभा मार्फत संबिधान निर्माणमा रुपान्तरण भएको थियो । मंगलाघाट स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलीटब्युरो सदस्य तथा जिल्ला संयोजक गोविन्द पौडेलले राजतन्त्रको अन्त्य, संबिधानसभा मार्फत जारी भएको संबिधान, संघियता, समावेशी व्यवस्था, धर्मनिरपेक्षता लगायतका जनयुद्धको उपलब्धिको रक्षाका लागि माओवादी एकताको अपरिहार्यतामा जोड दिनुभयो ।

जनयुद्धका सबै योजना सफल नभएपनि प्राप्त उपलब्धिलाई टेकेर बाकी कार्यभार पुरा गर्ने, देशलाई संबिधान कार्यान्वयन, विकास, राजनितिक स्थिरता र सम्बृद्धीको बाटोमा दोह्याउन माओवादीले जोड दिएको नेता पौडेलले बताउनुभयो । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीका संयोजक शेरबहादुर केसीको अध्यक्षता, लक्ष्मण शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुदिन पौडेल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा विभिन्न संघ संस्थामा चयन भएका माओवादी सम्बद्ध व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।