आर्थिक संकटमा जयन्ती माविकोे ३० कोठे भवन

0

म्याग्दीको भकिम्ली गाविस– ५ मा अवस्थित जयन्ती माविमा निर्माणधिन अवस्थामा रहेका ३० कोठे भवन निर्माणमा आर्थिक संकट भएको छ । जिर्ण भवन विस्थापन गरेर स्थानीयले सुरू गरेको भवन निर्माण अभियानमा भकिम्लीबासीबाट आफ्नो क्षमता अनुसारको सहयोग भइरहेको अवस्थामा जिल्लाका तीनजना जनप्रतिनिधि, जिविस, लगाएतका विभिन्न सरकारी निकायबाट उपेक्षा भएपछि भवन निर्माणमा जुटेका स्थानीयले आर्थिक संकटको सामना गर्नुपरेको हो ।

‘भवन बनाउँदैछौ, आर्थिक अभावले दु्रत गतिको निर्माणमा समस्या भएको छ’ जयन्ती माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम पुनले बेनीअनलाइनलाई भने। उनले हालसम्म भवन निर्माणमा करिव ८० लाख खर्च भइसकेको अवस्थामा विदेशमा रहेका भकिम्लीबासी, काठमाण्डौ, गाउँमा जनश्रमदान, घरदैलो लगाएतका अभियानबाट करिव ६७ लाख संकलन भएको बताए ।

स्थानीयबासीले आफ्नो घरको कामलाई समेत थाँती राखेर हप्तौंसम्म जनश्रमदान, आर्थिक संकलन लगाएतका अभियानमुखी कार्यक्रम समेत सञ्चालन गरेका थिए । भकिम्लीबासीले जिल्लामा शिक्षा सम्बन्धि बजेट विनियोजन, केन्द्रबाट प्राप्त हुने बजेटमा समेत सानो बजेट समेत भकिम्लीलाई विनियोजन गर्न नसकेको भन्द्र राजनीतिक दल प्रति तिब्र असन्तुष्टी जनाएका छन् ।

भवन निर्माण अभियानमा यूके, बेल्जियम, काठमाण्डौमा रहेको भकिम्ली बरंजा माईटी कुटुम्ब समाज लगाएतले आर्थिक संकलन गरिरह्ेका छन् । भुपु विद्यार्थी मञ्चका संयोजक कृष्ण घर्तीमगरले विद्यालयमा राजनीतिक दलले उपेक्षा गरेको बताए । ‘जिल्लाका धेरै ठाउँमा बजेट विनियोजन भएको सुनिन्छ, हाम्रो विद्यालयमा एक लाख पनि दिन मुस्किल मान्नुहुन्छ’ घर्तीमगरले भने ।

उनले आर्थिक अवस्था कमजोर भएकै कारण विद्यार्थीले गतबर्षसम्म जोखिमपुर्ण र जिर्ण अवस्थामा विद्यालयको भवनमा पढ्न बाध्य रहेको बताउँदै स्थानीयले तीन करोड जुटाएर भवन बनाउनुपर्ने भए राजनीतिक दलले जनताको घरमै पुगेर भोट माग्न लाज माग्नुपर्ने बताए । करिव ३ करोडको लागतमा निर्माणधिन अवस्थामा रहेको भवनमा जिल्ला शिक्षा कार्यालयबाट १९ लाख ५० हजार आर्थिक सहयोग भएको छ । अपेक्षा र अनुमान गरेभन्दा तिब्र गतिमा निर्माण भइरहेको भवनमा स्थानीयबासीले दैनिक श्रमदान गर्ने गरेका छन् ।