म्याग्दीको राम्चे गाविस नांगीमा जन्मिएका सामाजिक अभियान्ता महावीर पुनले सुरू गरेको राष्ट्रिय आविष्कार केन्द्र स्थापनार्थ अभियानमा स्वदेश तथा विदेशबाट सहयोग संकलन भइरहेको छ । प्रतिभाशाली सन्ततीहरुको प्रतिभाको पालनपोषण गर्नका लागि केन्द्रको स्थापनामा लागेको अभियानमा म्याग्दी जिल्लाका ग्रामिण क्षेत्रबाट समेत आफ्नो क्षमता अनुसार सहयोग गरिरहेका छन् । म्याग्दी जिल्लामा जन्मिएर विश्वभर प्रख्यात बन्न सफल भएका पुनको अभियानमा दैनिकजसो आर्थिक संकलन भइरहेको छ ।

आविष्कार केन्द्रमार्फत विद्युत उत्पादनका लागि तत्काल ५० करोड संकलन गरी बाँकी बैंकबाट ऋण लिएर सुरू गर्ने अभियानमा हालसम्म ५ करोडको हाराहारीमा आर्थिक संकलन भएपनि लक्ष्य अनुसारको आर्थिक जुट्न अझै मुस्किल भइरहेको अवस्थामा बेतारे इन्टरनेटका माध्यमबाट विश्वभर वायरलेस हिरोको समेत परिचय स्थापित गरेका पुनले हालसम्म प्राप्त गरेका ठुला र चर्चित मेडलहरु समेत विक्री गर्ने घोषणा गरेका छन् ।

लक्ष्यमा पुग्न लाग्ने ठुलो रकम अझै संकलन हुन बाँकी भएपछि जिवनमा संघर्ष गरेर प्राप्त गरेका मेडल समेत विक्री गरेर अभियान सफल पार्ने पुनले बेनीअनलाइनलाई बताए । सन् २००७ मा एशियाको नोबेल पुरस्कार भनेर समेत चिनिने म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका पुनले आफ्नो मेडललाई विक्री गरेको आर्थिकलाई समेत अभियानमा लगाउने घोषणा गरेका हु्न् ।

अभियान अन्र्तरगत कास्की जिल्ला बेगनास तालको उत्तरपट्टीको ठुलाकोट भन्ने डाँडामा २० बर्ष अगाडी खरिद गरेको २८ रोपनी समेत केन्द्रको नाममा दान गरेका पुनले केन्द्रमार्फत विद्युत उत्पादनका लागि तत्काल ५० करोड संकलन गरी बाँकी बैंकको ऋणबाट विद्युतगृह निर्माण संगै केन्द्रले खोज तथा अनुसन्धानका कामलाई समेत निरन्तरता दिने बताउँदै आइरहेका छन् ।