व्यवस्थापिका संसदका सदस्य नवराज शर्माले पश्चिम म्याग्दी भेगमा निर्माणाधीन विकासे योजनाहरुको अनुगमन गरेका छन् । उनले दरबाङ–बिम–ताकम–जलजला सडकखण्डअन्तर्गत पर्ने बिम–ताकम–जलजला सडकको स्थलगत अनुगमन गरेका हुन् ।

जिल्ला विकास समितिको कार्यालय म्याग्दीमार्फत २५ लाखको लागतमा निर्माण भैरहेको उक्त सडकखण्डको अहिले शिवरात्री खोलानिरको भिर पहरामा काम भैरहेको सांसद शर्माले जानकारी दिए । सो सडक दरबाङ–बिम–ताकम हुँदै जलजला जोड्ने तयारीका साथ काम अगाडि बढाइएको छ । यसैगरी जिविसको ८० लाख तथा सडक विभागको २ करोडको लागतमा निर्माणाधीन दरबाङ–बिम–मराङ–मल्कबाङ हुँदै कुईनेमङ्गले जोड्ने सकडमा पनि काम भैरहेको उनले बताए ।

यो सडकमा हाल मराङ खोलादेखि माथी भिरपहरामा काम भैरहेको छ । सडक योजना अनुगमनका क्रममा सांसद शर्माले स्थानीय उपभोक्तासँग भेटघाट र छलफल समेत गरेका छन् । त्यस्तै बिम गाविसमा निर्माणाधीन स्वास्थ्यचौकी भवनको पनि अनुगमन गरेको उनले बताए । स्वास्थ्यचौकीको हाल ८० प्रतिशत काम सम्पन्न भैसकेको सांसद शर्माको भनाई छ । अनुगमनमा जिविसका प्राविधिक कृष्ण रायलगायतको सहभागीता रहेको थियो ।

विज्ञापन