जडिबुटी विशेषज्ञ सापकोटाको टिम्मुर खेतीको सहयोगी पुस्तिका बिमोचन

0

जिल्ला वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाद्वारा लिखित ‘नेपालमा टिम्मुर खेतीका लागि सहयोगी पुस्तिका’को बिमोचन भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र फार्मिङ फर हेल्थ काठमाडौंको संयुक्त आयोजनामा बिहीबार बेनीमा पुस्तिकाको बिमोचन गरिएको हो । जडिबुटी विशेषज्ञ समेत रहेका सापकोटाले लेखेको पुस्तिकाको बिमोचन गर्दै सांसद तथा पूर्वराज्यमन्त्री नरदेवी पुनले टिम्मुर एक महत्वपूर्ण जडिबुटी औषधी भएको बताइन् ।

उनले म्याग्दी उद्योग वाणिज्य संघमार्फत सञ्चालित ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमको फ्लोअप गर्नुपर्नेमा जोड दिँदै टिम्मुर खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउनुपर्ने बताएकी छिन् । सोही कार्यक्रम बोल्दै लेखक चन्द्रमणि सापकोटाले आफु निजामति सेवामा प्रवेश गरेपश्चात् नै जडिबुटीको महत्वबारे अनुसन्धानमा केन्द्रीत भएको बताए ।

उनले २०६० सालबाट म्याग्दीमा जडिबुटी तथा टिम्मुर खेतीको अनुसन्धानमा आफु लागेको बताउँदै पछिल्लो चरणमा धौलागिरि हिमालयन क्षेत्रमा पाइने जडिबुटीसम्बन्धी पुस्तक प्रकाशनको तयारी गरिरहेको जानकारी दिएका छन् । कार्यक्रममा फार्मिङ फर हेल्थ काठमाडौंका प्रवन्ध निर्देशक नारायण ढकालले २ वर्षअघि म्याग्दीमा उत्पादित टिम्मुर नमुना सङ्कलन गरी युरोप पठाइएको र नेपालमै म्याग्दीको टिम्मुर उत्कृष्ट पाइएको बताए । उनले नर्सरीमा रोपिएको टिम्मुर २ र वनजङ्गलमा ३ वर्षबाट फल्ने गरेको बताउँदै उत्पादित टिम्मुर निकासीको व्यवस्थापन गर्न कृषि कार्यालयलाई दिनुपर्ने माग गरेका छन् ।

टिम्मुर खेतीका लागि प्रकाशित सहयोगी पुस्तिकामाथी वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले समीक्षा गरेका थिए । टिम्मुर खेतीमा लागेका तथा लाग्ने किसान र नेपालमा टिम्मुर खेतीको सम्भावना तथा उत्पादनबारे सहयोग पु¥याउने उद्देश्यसहित पुस्तक प्रकाशन गरिएको लेखक सापकोटाको भनाई छ । म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कर्माचार्यको अध्यक्षता र स्वागत तथा महासचिव राजेश शाक्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा टिम्मुर खेतीमा आबद्ध किसान, पत्रकार, उज्यालो वैकल्पिक विद्यालयका विद्यार्थीलगायतको सहभागीता रहेको थियो ।