पहुँच नभएकै कारण म्याग्दी जिल्ला विकासमा पछाडी :श्रेष्ठ

0

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिन बहादुर श्रेष्ठले पहुँच नभएका म्याग्दी जस्ता जिल्ला विकास निर्माणका गतिविधिमा निकै पछाडी परेको बताएका छन् । जिल्लामा आवश्यक विकास निर्माण, शिक्षा, स्वास्थ्य लगाएतका आधारभुत क्षेत्रमा ग्रामिण क्षेत्रबाट माग भएका योजनाहरू समयममै केन्द्रसम्म पु¥याउने संयन्त्र कमजोर भएकै कारण म्याग्दी जस्ता पहाडी जिल्लाका विकासे गतिविधिहरू सुस्त गतिमा अगाडी बढेको बताए ।

बिहिबार राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेबारी सम्हालेपछि पहिलोपटक आफ्नो जन्मभूमी बेनी नगरपालिकाको सिंगा र तातोपानीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहभागि हुन आएका उपाध्यक्ष श्रेष्ठले म्याग्दी जिल्ला जस्ता केही पहाडी जिल्लामा धमाधम बजेट भित्रिएपनि विगतमा म्याग्दीमा नियमित कार्यक्रम बाहेक ठुला बजेट नआउनुमा केन्द्रसम्म पहुँचको अभाव प्रमुख कारण भएको बताए ।

शुक्रबार सदरमुकाम बेनीमा सञ्चारकर्मीसंग कुराकानी गदैं उपाध्यक्ष श्रेष्ठले म्याग्दी जस्ता जिल्लाले विकासमा क्षर्तीपुर्ती पाउनु्पर्ने माग आफ्नो रहेको बताए । उनले विगतमा उपेक्षा गरिएकाले अहिले प्राथिमकताका साथ बजेट विनियोजनको काम भइरहेको बताए । उनले बेनी–दरवाङ–ताकम– जलजला सडकलाई मध्यपहाडी लोकमार्गको विकल्पका रुपमा समेत प्रयोग गर्न सकिने बताए । छिमेकी जिल्ला बागलुङ ररुकुमलाई जोड्ने छोटो सडकका रुपमा चिनिएको बेनी–दरवाङ सडक स्तरउन्नती र कालोपत्रेका लागि बजेट विनियोजन भएको बताउँदै हिमाली जिल्ला मुस्ताङको सडक स्तरउन्नतीले समेत जिल्लाको आर्थिक गतिविधिमा भूमिका खेल्ने बताए ।

उनले कृषि, पर्यटन, जलविद्युत लगाएत स्थानीयस्तरमा रहेका सम्भावनायुक्त क्षेत्रलाई उजागर गरी आवश्यक बजेट विनियोजनमा सरकारले समेत प्राथमिकता दिएको बताए । उनले राहुघाट जलविद्युत आयोजनालाई नियमित बनाउन आफुँले निरन्तर पहल गरिरहेको बताए । शुक्रबार बेनीबजार आसपासका क्षेत्रमा सरसफाईको उद्घाटन, कार्यालय प्रमुख र राजनीतिक दलसंग समेत जिल्लाको अवस्थाका बारेमा छलफल गरी विकास निर्माणलाई तिब्रता दिन अनुरोध गरे ।