मध्यपहाडी जिल्ला म्याग्दीको एउटै गाउँबाट मात्रै यसवर्ष झण्डै २८ लाख रुपैयाँ बराबरको सुन्तला निर्यात भएको छ । भकिम्ली–५ को उपल्लो र तल्लो राखुबाट मंसिर अन्तिम सातादेखि माघ महिनासम्म कुल २७ लाख ६९ हजार रुपैयाँको सुन्तला निर्यात गरिएको हो । गएको वर्ष १५ लाख रुपैयाँको सुन्तला निर्यात भएकोमा यसवर्ष उत्पादन बढेको किसानहरुले बताएका छन् । भकिम्लीको राखुबाट १४ ट्रक सुन्तला पोखरा र काठमाडौंको बजारमा निर्यात भएको अगुवा सुन्तला कृषक मनकुमारी पुनले बताउनुभयो ।

त्यस्तै धादिङका डोके व्यापारीहरुलाई दुई ट्रक सुन्तला बिक्री गरिएको बताउँदै उहाँले बोटमै प्रतिकेजी ४० र पोखरा पुग्दा ७० रुपैयाँसम्म मूल्य पर्ने गरेको जानकारी दिनुभयो । आफूले यसवर्ष २ लाख ५० हजार रुपैयाँ सुन्तला बिक्री गरेर आम्दानी गरेको उहाँले बताउनुभएको छ । किसानहरु अन्य खेतीबाली छाडेर व्यावसायिक रुपमा सुन्तला खेतीतर्फ लागेपछि उनीहरुको बगंैचामा सुन्तला उत्पादन बढ्दै गएको छ । छोटो समयमै धेरै आम्दानी हुन थालेपछि भकिम्लीका किसानहरु सुन्तला खेतीतर्फ थप आकर्षित भएका छन् भने अहिले उनीहरुको मुख्य पेशा नै व्यवसायिक सुन्तला खेती रहेको छ ।

जिल्ला कृषि विकास कार्यालय म्याग्दीबाट अनुदानमा सुन्तलाका बिरुवा तथा मलबीउको सहयोग पाएपछि महिलाहरु व्यावसायिक रुपमा सुन्तला खेतीमा लागेको भकिम्लीको अर्का कृषक तारा बुढाथोकीले बताउनुभएको छ । उहाँका अनुसार गाउँमा उत्पादित सुन्तला र कृषि उपजलाई बजारसम्म पु¥याउनका लागि गलाको सुन धितो राखेर कृषि सडक खनिएको छ । भकिम्लीमा मात्रै प्रति कृषकले वर्षमा न्युनतम ५ हजारदेखि ३ लाख रुपैयाँसम्म सुन्तला खेतीबाटै आम्दानी गर्दै आइरहेका छन् ।

परम्परागत रुपमा सामान्य सुन्तला खेती गर्ने गरिए पनि २०६६ सालबाट नर्सरी स्थापना गरी सुन्तला खेती सुरु गरेपछि वार्षिक रुपमा एकलाख रुपैयाँभन्दा बढी सुन्तला खेतीबाटै आम्दानी गर्ने गरेको कृषक केरसिङ पुनले अनुभव सुनाउनुभएको छ ।

स्थानीय जातको सुन्तला उत्पादन हुँदै आएको भकिम्लीको राखुमा मात्रै ६१ जना कृषकहरु सुन्तला खेतीमा आबद्ध भएका छन् । भकिम्लीमा मात्रै सानाठूला गरी ८ हजार ८३ वटा सुन्तलाका बोटहरु रहेको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ । चालु वर्षमा कृषकहरुलाई समेटेर सुन्तलाको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यसहित सुन्तला सुदृढीकरण कार्यक्रम लागू गर्ने तयारी गरिएको कृषि कार्यालयका प्राविधिक श्यामराज क्षत्रीले जानकारी दिनुभयो ।

विज्ञापन