म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले जिल्लामा शान्तिसुरक्षा कायम गर्न सबैले सहयोग गर्नुपर्ने बताएकी छिन् । शुक्रबार दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले शान्त जिल्ला बनाउन सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताएकी हुन् ।

प्रनाउ खड्काले जनतालाई शान्तिको अनुभूति गराउनका लागि आफूले सक्दो पहल गर्ने बताउँदै महिला तथा घरेलु हिंसा र लैङ्गिक हिंसा न्युनीकरणका लागि सबै सरोकारवाला निकायको सकारात्मक भूमिका आवश्यक रहेकोमा जोड दिइन् । महिला प्रहरी प्रमुखका हिसाबले क्षेत्र फराकिलो र जिम्मेवारी धेरै भएको भन्दै उनले दिदीबहिनीहरुलाई सघाउन आग्रह समेत गरेकी छिन् ।

कार्यक्रममा दिदीबहिनी सहकारीका अध्यक्ष जमुना आचार्यले आफ्नो संस्थामार्फत सञ्चालित गतिविधिका साथै हिंसामा परेका महिला दिदीबहिनीहरुलाई आर्थिक तथा कानुनी उपचारमा सहयोग पु¥याउँदै आएको जानकारी गराएकी थिइन् । कार्यक्रमको अवसरमा नवआगन्तुक प्रनाउ खड्कालाई सहकारीका सञ्चालक, पदाधिकारी र कर्मचारीलगायतले फुल, मायाको चिनो र संस्थाको बुलेटिन तथा क्यालेन्डर दिएर स्वागत गरेका थिए ।

सोही अवसरमा संस्थाका कर्मचारीहरुलाई पनि स्वागत गरिएको थियो । संस्थाका अध्यक्ष आचार्यको अध्यक्षता, उपाध्यक्ष ज्योती लामिछानेको स्वागत र सचिव विष्णु गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका कार्यसमिति सदस्य प्रताप बानियाँले मन्तव्य राखेका थिए ।