४ सय बर्ष पुरानो बेनी शिवालय मन्दिरमा जोगाउन महायज्ञ आयोजना

0
248

म्याग्दीको सदरमुकाम बेनीस्थित रहेको बेनी शिवालय मन्दिरमा महाशिवपुराण महायज्ञ लगाइने भएको छ । ४ सयवर्ष पुरानो प्राचीन ऐतिहासिक धार्मिक तीर्थस्थलको रुपमा अवस्थित भद्रिबम शिवालय मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग स्थापनार्थ महाशिवपुराण ज्ञान महायज्ञ आयोजना गरिएको हो ।

प्राचीन महत्व बोकेको मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले यही फागुन ८ गतेदेखि १९ गतेसम्म महायज्ञ आयोजना गरिएको महायज्ञ मूल आयोजक बेनी शिवालय मन्दिर संरक्षण समितिले जनाएको छ । शुक्रबार बिहान पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी मन्दिरको प्रचारप्रसारका साथै भौतिक पूर्वाधार विस्तार गरिने समितिले जानकारी दिएको छ ।

महायज्ञबाट सङ्कलित रकमले मन्दिर परिसरमा १०८ शिवलिङ्ग स्थापना गरिने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष बिक्रम श्रेष्ठले बताएका छन् ।
बेनी शिवालय मन्दिरमा साउन महिनाको सोमबार, मङ्गलचौथी, जनैपूर्णिमा, बालाचर्तुदर्शी, शिवरात्रीलगायतका दिनमा बिशेष पुजाआजा हुँदै आइरहेको छ। महायज्ञमा तीस लाख रुपैयाँभन्दा बढी आर्थिक सङ्कलन गर्ने अपेक्षा गरिएको निर्देशक तथा अनुगमन उपसमितिका संयोजक प्रकाशकुमार श्रेष्ठले जानकारी दिए । विभिन्न १८ वटा उपसमिति गठन गरेर महायज्ञको तयारीलाई तीब्र पारिएको बताइएको छ ।

महायज्ञमा मूलवाचक पण्डित डण्डपाणी उपाध्यायले दिव्य प्रवचन दिने कार्यक्रम रहेको छ । यसैगरी महायज्ञको पहिलो दिन पूर्वाङ्गसहित बजार परिक्रमा गरिने भएको छ । दोस्रो दिन यज्ञ शुभारम्भ, दैनिक पुजा आरम्भ, पाठपारायण, भजनकिर्तन, प्रवचन, सम्मान, आरती, पुष्पाञ्जली, लाखबत्ती प्रज्ज्वलनलगायतका कार्यक्रमहरु आयोजना गरिएको छ ।