म्याग्दीका युवा वैदेशिक रोजगारी छाडेर व्यवसायतर्फ उन्मुख हुन थालेका छन् ।विदेशमा कमाएको रकम अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको र परिवारसँग टाढिने समस्याले पनि आफ्नै ठाउँमा बसेर केही गर्न उत्प्रेरित गरेको उनीहरूले बताएका छन् ।निस्कोटका राम पुन, नारच्याङका बुद्धि पुन र भकिम्लीका धनबहादुर श्रीस यसका प्रतिनिधि पात्र हुन् ।

११ वर्ष कतारको मरुभूमिमा पसिना बगाएका निस्कोट–५ का राम पुनले एक वर्ष अघिदेखि सदरमुकाम बेनीबजार नजिकै बङ्गुरफार्म सुरु गरेका छन् । “ कसरी चलाउने भन्ने थाहा छैन” पुनले भन्नुभयो, “तर विदेशमा छँदै आफ्नै ठाउँमा केही गर्ने सोच भएकाले लगानी गरेको हुँ ।” एक वर्ष अघि रु ११ लाख लगानी गरेका पुनले मासिक किस्तामात्रै रु १८ हजार तिर्छन् भने दैनिक काम गर्न आफूबाहेक तीनजना कामदार पनि राखेका छन् ।

विदेशबाट फर्किएर स्वदेशमै रमाउने अर्का युवा व्यवसायी हुन् नारच्याङका बुद्धि पुन । वैदेशिक रोजगारीका क्रममा श्रीमतीसहित सिङ्गापुर पुग्नुभएका उहाँले भन्नुभयो, “कमाई राम्रै थियो तर अर्काको मुलुकमा बस्न मन लागेन ।” एक वर्षअघि बाख्रापालन सुरु गर्नुभएका उहाँले आफ्नो व्यवसायलाई बढाउँदै लैजाने योजना बनाउनु भएको छ । भुरुङ तातोपानीमा फार्म सञ्चालन गर्नुभएका उहाँजस्तै युवा व्यवसायतर्फ आकर्षित भएको उहाँले बताउनुभयो ।

भकिम्लीका धनबहादुर श्रीस अर्का युवा हुन् जो विदेशको नोकरी छोडेर व्यवसायमा एकोहोरिँदै छन् । “विदेशमा काम र दाम दुवै राम्रो थियो”, श्रीसले सुनाउनुभयो, “तर अर्काको देशमा कमाएको पैसाले घरखर्च टार्नेबाहेक अर्थोक केही भएन ।” आफ्नै स्वामित्वको ३० रोपनी पाखोबारीमा बाख्रापालन गरेका श्रीससँग अहिले ६० भन्दा बढी बाख्रा छन् । “बाख्रामात्र होइन, कुखुरा र माहुरीका घार पनि राखेको छु” उहाँले भन्नुभयो, “तर मेरो योजना बाख्रापालनलाई अघि बढाउने हो ।”

‘लाहुरेको जिल्ला’ को उपाधि पाएको म्याग्दीका युवा ‘लाहुर’ छाडेर व्यवसायतिर लागेका यी केही उदाहरणले पछिल्लो समय जिल्लामा उद्यमशील युवाको सङ्ख्या बढ्दै गएको देखाएको छ । विदेशबाट फर्किएरमात्र होइन स्वदेशमै उद्यम गरिरहेका युवाको सङ्ख्या पनि जिल्लामा विस्तारै बढ्दो क्रममा छ । धु्रबसागर शर्मा