भलिबल खेलाडीको आमा बचाउँ अभियानमा जुटे खेलाडी

0

जिल्लाको लोकप्रिय काउलेगौडा यूवा क्लवले आन्द्रामा क्यान्सर भएर काठमाण्डौ क्यान्सर सेन्टर अस्पताल भक्तपुरमा उपचार गराइरहेकी बेनपा–९ घतानकी बालकुमारी चोखाल बचाउँ अभियान सुरु गरेको छ । राष्ट्रिय भलिबल खेलाडी एवम् क्लवका क्याप्टेन सुजन चोखालकी आमाको उपचारको उपचारमा क्लवले हालै बेनीमा भएको भलिबल प्रतियोगिताको पुरस्कारबाट २५ हजार आर्थिक सहयोग गरेर अभियानको सुरुवात गरेको छ ।

आइतबार जिल्ला खेलकुद विकास समितिमा आयोजित कार्यक्रममा एकबर्ष देखी क्यान्सर रोगबाट ग्रसित भएर काठमाण्डौमा उपचार गराइरहनुभएकी चोखालको उपचारमा आर्थिक समस्या भएपछि अभियानको सुरुवात गरिएको अभियानका संयोजक एवम् क्लवका संस्थापक अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।‘पुरस्कारको रकमलाई उपचारमा खर्च गरेर अभियानको सुरुवात गरिएको छ । उहाँको जिवन बचाउन सकेमात्रै भलिबल खेललाई टेवा पु्ग्छ’ बानियाँले भन्नुभयो ।

कार्यक्रममा ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, संस्थापक अध्यक्ष चन्द्रकुमार केसी,प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले खेलाडीको अभिभावक बचाउँ अभियान खेलाडीले नै सञ्चालन गरेर नौलो अभियानको सुरुवात गरिएको बताउनुभयो । उहाँहरुले आर्थिक अभावकै कारण उपचारबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा सहयोग गर्न अनुरोध गर्नुभयो।

कार्यक्रमक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेले म्याग्दी जिल्लामा सामाजिक अभियान मार्फत आर्थिक जु्टाउने अभियानले मानवीय सेवामा जुट्न देशभर सन्देश प्रवाह गरेको बताउनुभयो । सोही अवसरमा जिल्ला खेलकुद विकास समितिबाट ११ हजार १११, राजेश शाक्य ५ हजार, चन्द्रकुमार केसी ५ हजार, तेजेन्द्र बानियाँ ५ हजार, गंगाराज बानियाँ ५ हजार, चिरञ्जीवि सुबेदी ५ हजार, रमेशकुमार श्रेष्ठ ५ हजार आर्थिक संकलन भएको थियो । क्लवका संस्थापक अध्यक्ष तेजेन्द्र बानियाँको सञ्चालन र अध्यक्ष चिरञ्जीवि सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।