म्याग्दीका झोलुङ्गे पुलमा आवतजावत सुरक्षित बनाउन तालिम

0
186

म्याग्दीको सदरमुकाम बेनीमा आइतबारदेखि झोलुङ्गे पुल संरक्षकहरुका लागि नियमित मर्मत सम्भारसम्बन्धी तालिम शुरु भएको छ । जिल्ला विकास समितिको आयोजना, ड्रिलीप जिल्ला आयोजना कार्यालयको आर्थिक सहयोग र टिबिएसयु हेल्भेटास आरटिएपि पोखराको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

स्थानीयवासिन्दलाई सहज रुपमा आवतजावत गर्न तथा जोखिम न्युनीकरण गरी स्थानीय तहमा सिप हस्तान्तरण र पुलको दिगोपना वृद्धि गर्ने उद्देश्यले तालिम चलाइएको आयोजकले जनाएका छन् । विभिन्न ४ चरणमा सञ्चालित तालिम यसअघि दरबाङ, बाबियाचौर र भूरुङ–तातोपानी केन्द्रमा सञ्चालन गरिसकिएको जिविसका असिस्टेन्ट सव–इन्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए ।

तालिमको टिबिएसयु पोखराका झोलुङ्गे पुलका इन्जिनियर शतिस राय, आरटिएपि पोखराका प्राविधिक अधिकृत श्रीधर भण्डारी, प्रमुख जिल्ला इन्जिनियर शिवमान श्रेष्ठ, जिविसका सूचना अधिकृत पदम भण्डारी र सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले सहजीकरण गर्ने बताइएको छ । २ दिनसम्म चल्ने तालिममा नेपालमा झोलुङ्गे पुलको अवस्था, सरसफाई, दिगोपनालगायतका विषयमा सहजीकरण गरिने भएको छ ।

स्थानीय विकास अधिकारी प्रेमराज गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा तालिमको उद्देश्यमाथी पश्चिमाञ्चल क्षत्रीय कार्यालय टिबिएसयु पोखराका स्वाय सहजीकरण प्रवन्धक दिनेशप्रसाद पाण्डेले प्रकाश पारेका थिए । जिविसअन्तर्गत सञ्चालित परियोजना ड्रिलीपका कम्प्युटर अपेरटर दिलमाया बिटालुको सञ्चालन र जिविसका सूचना अधिकृत पदम भण्डारीको स्वागतमा सम्पन्न कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुनले मन्तव्य राखेकी थिइन् ।

चारवटा केन्द्रमा सञ्चालन भएको उक्त तालिममा १ सय ८६ जनाले सहभागीता जनाएका छन् । हाल म्याग्दी जिल्लामा नयाँ पुराना गरी कुल १ सय ८६ ओटा झोलुङ्गे पुलहरु सञ्चालनमा रहेको जिविसले जानकारी दिएको छ । गतवर्ष मात्रै १५ ओटा नयाँ र १४ ओटा बृहत पुल निर्माण भएका थिएभने ५० हजार जनसङ्ख्या लाभान्वित भएको छ ।