म्याग्दीको बरंजा गाविसमा रहेका दुईवटा विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न पुर्व विद्यार्थीले सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघको सक्रियता र नेपाल लाईबे्रेरी फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा जिल्लाका विभिन्न विद्यालयमा जडान भएको विद्युतीय पुस्तकालयलाई महेन्द्र रत्न निमावी थर्पु र जनप्रिय निमावीमा बरंजा छात्रबृद्धि अक्षय कोषमार्फत आर्थिक संकलन गरी स्थापना गर्न लागिएको कोषका संरक्षक लोकेश पुन मगरले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार अभियानमा बरंजा–४ घर भई हाल अमेरिका रहेक मन प्रसाद रोकाले ५० हजार आर्थिक सहयोग गरेका छन् । ‘विद्युतीय पुस्तकालय अहिलेको आवश्यकता छ । अभियानमा जुट्ने सबैलाई धन्यवाद’ उनले भने । विद्युतीय पुस्तकालयमा बरंजा–४ फन बहादुर रोका २५ हजार, बरंजा–४ ललिन्द्र थापा ५ हजार, बरंजा–२ का टेक बहादुर खड्काले ५ हजार सहयोग गरेका छन् ।

आर्थिक सहयोग बाहेक दु्ईवटै विद्यालयमा लाग्ने थप रकम कोषले उपलब्ध गराउने अध्यक्ष इन्जिनियर शंकर बुढाथोकीले बताए । यसैविच बरंजाको महेन्द्ररत्न माविमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठले ब्यक्तिगत लगानीमा पुस्तकालय जडान गर्ने पहिल्य नै घोषणा गरेका छन् । सामुदायिक विद्यालयका शिक्षक,विद्यार्थीको कम्प्यूटरको प्रयोगमा कम चासो जाने गरेको अवस्थामा माध्यामिक तहका विद्यालयमा अफलाइनको माध्यमबाट सहजै अध्ययन गर्न सकिने पुस्तकालय स्थापनाको अभियानमा मोना आइसीका कोषाध्यक्ष चक्र थापाको विषेश भूमिका रहेको छ ।

पुस्तकालयमा ८ हजार पुस्तक, अडियो, भिडियो, सामुदायिक विद्यालयका निमावी तहका पाठ्यक्रम,सीप र ज्ञानमुलक, ब्यवहारिक सहित शिक्षक देखी अभिभावकसम्मलाई लक्षित गरेका पुस्तकहरू कम्यूटरको माध्यमबाट विना इन्टरनेट समेत डाउनलोड गरेर पढ्न सकिन्छ । एउटा विद्यालयमा विद्युतीय पुस्तकालय जडानमा ७५ हजार खर्च लाग्छ । ज्ञान, भाषाको विकास, आफै सिक्ने क्षमता, पढ्ने बानी र ब्यक्तित्व विकासमा समेत पुस्तकालयलाई पुरक विद्यालयको रुपमा चिनिन्छ ।

विज्ञापन