म्याग्दी जिल्लामा सञ्चालनमा रहेका झोलुङ्गे पुलहरुको संरक्षकहरुले २ दिनसम्मको मर्मत सम्भारसम्बन्धी तालिम लिएका छन् । सदरमुकाम बेनीसहित जिल्लाको ४ ठाउँमा तालिम सञ्चालन गरी १ सय ८६ जनालाई झोलुङ्गे पुलको मर्मत सम्भारका विषयमा तालिम प्रदान गरिएको छ ।

जिल्ला विकास समितिको कार्यालय म्याग्दीको आयोजना, ड्रिलीप जिल्ला आयोजना कार्यालयको आर्थिक सहयोग र टिबिएसयु हेल्भेटास आरटिएपि पोखराको प्राविधिक सहयोगमा झोलुङ्गे पुलका संरक्षकहरुलाई पुल मर्मतसम्भारको तालिम सञ्चालन गरिएको थियो । सोमबार बेनीमा पुल मर्मतसम्बन्धी अन्तिम चरणको तालिम सम्पन्न भएको छ ।

स्थानीयवासिन्दालाई सहज रुपमा आवतजावत गर्न तथा जोखिम न्युनीकरण गरी स्थानीय तहमा सिप हस्तान्तरण र पुलको दिगोपना वृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएका छन् । विभिन्न ४ चरणमा सञ्चालित तालिम यसअघि दरबाङ, बाबियाचौर र भूरुङ–तातोपानी केन्द्रमा सञ्चालन गरिसकिएको जिविसका असिस्टेन्ट सव–इन्जिनियर बालकृष्ण पौडेलले बताए ।

तालिमको पश्चिमाञ्चल क्षत्रीय कार्यालय टिबिएसयु पोखराका झोलुङ्गे पुल इन्जिनियर शतिस राय, आरटिएपि पोखराका प्राविधिक अधिकृत श्रीधर भण्डारी, प्रमुख जिल्ला इन्जिनियर शिवमान श्रेष्ठले नेपालमा झोलुङ्गे पुलको अवस्था, सरसफाई, दिगोपना, मर्मतसम्भार, संरक्षणलगायतका विषयका बारे तालिममा सहजीकरण गरेका थिए । तालिमको अवसरमा संरक्षकहरुलाई झोलुङ्गे पुलको मर्मतका लागि टुलबक्स र औजार सहयोग गर्नुका साथै त्यसको जानकारी पनि गराइएको छ ।

तालिम समापन कार्यक्रममा बोल्दै टिबिएसयु पोखराका स्वाय सहजीकरण प्रवन्धक दिनेशप्रसाद पाण्डे, जिविसका सूचना अधिकृत पदम भण्डारी, तालिमका मुख्य प्रशिक्षक समेत रहेका शतिस राय र गाविस हकहित संरक्षण केन्द्र म्याग्दीका अध्यक्ष सोमबहादुर केसीले तालिममा सिकेका सिपलाई व्यवहारमा पूर्णरुपमा उतार्न संरक्षणकहरुलाई सुझाव दिएका थिए ।

प्रमुख जिल्ला इन्जिनियर शिवमान श्रेष्ठको अध्यक्षता र जिविसअन्तर्गत सञ्चालित परियोजना ड्रिलीपका कम्प्युटर अपेरटर दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका कार्यसमिति सदस्य प्रताप बानियाँ, तालिमका सहभागीद्वय गंगाबहादुर रोका र सङ्गिता कार्कीले मन्तव्य राखेका थिए ।