होसियार ! महाशिवरात्रीमा सुन लगाएर मन्दिर जाँदा लुटिएला

0

सुनका गरगहनाले सजिएर शिवरात्रीमा गलेश्वर मन्दिरमा जाने तयारीमा हुनुहुन्छ ? होसियार । तपाईले घाँटीमा लगाएरका गरगहना विगतमा जस्तै लुटिन सक्छन् । महाशिवरात्रीको तयारीमा जुटेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले स्थानीय सञ्चारमाध्यममा प्रकाशित तथा प्रशारित विज्ञापनमा गरगहनामा सजिएर पुजाआजामा नआउन अनुरोध गरि दुईहप्ता यता विज्ञापन सन्देश दिइरहेको छ ।

विगतमा मन्दिरमा दर्जन गर्न आएका भक्तजनहरुबाट शरीरमा लगाएका गरगहना चोरीमा संलग्नहरुले लुटपाट गरेका घटना सार्वजनिक भएपछि भक्तजनलाई बहुमुल्य गरगहना, मोवाईल सहित आफ्ना महत्वपुर्ण साम्रागी घरमै राखेर दर्शनमा जान गलेश्वर शिवालय क्षेत्र विकास कोषले अनुरोध गरेको छ । ‘विगतमा गरगहना हराएको गुनासो आएको थियो, प्रहरीले मन्दिरमा खोजीकार्य गरेपनि फेला पार्न सकेन’ रुद्ध बहादुर केसीले भने । उनले घटना भएर पछुताउनु भन्दा पनि घटनालाई न्यूनिकरणका लागि भक्तजनहरु नै सचेत हुनुपर्ने बताए ।

म्याग्दी जिल्लाका साथै देशका विभिन्न जिल्लाबाट आउने भक्तजनहरु मध्ये बृद्धबृद्धा, महिलाहरु अपराधिक मानसिकता भएकाहरुको निगरानीमा हुने र अत्याधिक भिडका विचमा भक्तजन बनेर प्रवेश गरी चोरी गरी फरार हुने गरेका घटनाबाट सचेत हुन प्रहरीले समेत अनुरोध गर्ने गरेपनि महिलाहरुले गरगहनामै सजिएर जाने गरेकाले हरेक बर्ष लुटपाटका घटना हुने गरेका छन् । ‘भिडमा हराएको गरगहना खोजीको क्रममा निर्दोषले समेत सास्ती पाउँछ ।

पुजा गर्न जाने बेलामा घरमै राखेर गए सबैलाई सजिलो’ एक प्रहरीले भने । लुटपाटका घटनालाई न्यूनिकरण गर्न भक्तजनहरुले समेत आफ्नो सुरक्षा आफै गर्न सक्नुपर्ने अवस्थालाई समेत ध्यान दिनुपर्नेमा प्रहरीको जोड छ । मन्दिरमा आफन्तको सहयोगमा पुजाआजा गर्न जाने बृद्धाहरुबाट धेरै लुटपाट भएपनि गरगहना लगाएका महिलाहरुको पुजाआजामा ध्यान केन्द्रित गर्ने गरेको अवस्थामा चोरीको मानसिकता बोकेर गएकाहरुलाई सजिलो हुने प्रहरीको भनाई छ । मन्दिरमा हातमा लगाएको बाला, सिक्री लगाएतका बहुमल्य गरगहना हराउने गरेका छन् ।

यस्ता छन् विगतमा गलेश्वर मन्दिरमा भएका चोरीका घटनाहरू
गतबर्ष बालाचतुर्दशी पर्वको अवसरमा दर्शन गर्न गएकी बेनी नगरपालिका–७ न्यूरोडकी खड्क कुमारी श्रेष्ठको मन्दिरमा पुजा गरिरहेको अवस्थामा हातमा लगाएको ५ तोलाको बाला चोरी भयो । विहान परिवारसंगै मन्दिरमा पुजा गर्न गएकी ५० बर्षिया श्रेष्ठको एउटा हातबाट बाला हराएपछि मन्दिरमा रहेका प्रहरीले हुलियाको आधारमा खोजीकार्यमा सक्रिए भएपनि कुनै पत्ता लाग्न सकेन ।

बाला हराएपछि श्रेष्ठले दिएको हुलियाका आधारमा प्रहरीले करिव ५ हजारभन्दा धेर्रै भक्तजनहरुलाई मन्दिर तथा बेनी र गाउँतर्फ जाने स्थानमा निगरानी गरेपनि चोरीमा संलग्न भएकालाई प्रहरीले फेला पार्न सकेन् ।सोही दिन एकजना महिलाको समेत सुनको सिक्री हराएको हल्ला मन्दिरमा चलेपनि फेला परेको सुचना प्राप्त भएन । गतबर्ष भएको एउटा घटनाले प्रहरीलाई र क्षेत्र विकास कोषलाई हैरानी बनाएपनि हरेक बर्ष सुन हराएको सुनिएपनि धेरजसो हराउनेहरुले नै गुपचु्प राख्ने गरेका छन् ।

गरगहनामा सजिएर गएका महिला, बृद्धाहरुबाट विगतमा समेत चोरी हुने गरेको घटनाहरु क्षेत्र विकास कोषमा छन् ।गलेश्वर बजारमा प्रवेश देखी भक्तजनहरुको सेवामा समेत केन्द्रित भएको कोष र प्रहरीले गरगहना हराएको र चोरी भएका घटनाले आफ्नो ब्यवस्थापनमा समेत कमजोरी देखाउने गरेको महसुसु गर्ने गरेको पाइन्छ ।

गरगहनासंगै पैसा, मोवाईल लगाएतका साम्रागीहरु समेत चोरी हुनसक्ने अवस्थालाई मध्यनजर गरेर कोषले जुत्ताचप्पल राख्ने ठाउँमा समेत स्वयमसेवक परिचालन गर्ने गरेको छ भने अत्याधिक भिड हुने ८ वटा आधुनिक सिसी क्यामेरा समेत जडान गरेको छ। अपराध अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको भनाईमा भिड हुने ठाउँमा चोरलाई चोर्न सजिलो हुने भएकाले पनि ब्यक्तिगत तथा सुरक्षाका सयन्त्रहरुलाई समेत त्यसक्षेत्रमा केन्द्रित गर्नुुपर्छ । यसैले ब्यक्तिगत ज्यान, जिल्लाको प्रतिष्ठा, ब्यवस्थापन पक्षको कमजोरी र नोक्सानी हुने भएकाले बहुमुल्य गरगहना लगाएर मन्दिरमा पुजाआजामा प्रवेश नगर्न समस्त भक्तजनहरुलाई बेनीअनलाइनको समेत विनम्र अनुरोध छ ।