म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ। महाशिवरात्री पर्वको अवसरमा सोमबार बिहानैदेखि गलेश्वरमा म्याग्दीसहित विभिन्न जिल्लाका भक्तजनहरुको भीड लागेको हो ।

महादेव शिवजीको पुजाअर्चना गर्नका लागि म्याग्दी, पर्वत, बागलुङ, नवलपरासी, चितवन, कास्की, काठमाडौंलगायतका जिल्लाहरुबाट बिहानैदेखि श्रद्धालु भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । पवित्र कालिगण्डकी नदी किनारमाथिको ९ रोपनी क्षेत्रफलमा विशाल चक्रशिलामा फैलिएको गलेश्वर शिवालयमा पुजापाठ गर्न भक्तजनको घुइँचो लागेको क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।

देशका विभिन्न जिल्लाबाट आएका भक्तजनहरुलाई सहज रुपमा पुजा आराधना गर्ने वातावरण बनाउनका लागि लाइनमा बसेर पालैपालो पुजा गर्ने व्यवस्था मिलाइएको थियो । गलेश्वर आमा समुह, न्यु वेष्ट प्वाइन्ट आवासीय मावि, प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्र, गलेश्वर शिव यूवा क्लव लगाएतले स्वयमसेवकको भूमिका निर्वाह गरेका थिए । भक्तजनलाई मन्दिरका महत्वपुर्ण स्थानमा जडान गरिएका ८ वटा सिसी क्यामेरालाई सचिवालयबाट निगरानी गरिएको थियो ।

मन्दिरको दोस्रोगेटबाट गणेशको पुजाआजा, शिवलिङ्ग, मुख्य मन्दिर सहित आसपासमा रहेका सहायक मन्दिरहरुमा पुजाआजा गरेलगत्तै बाहिर निस्कन समेत सहज ब्यवस्थापन गरिएको कोषले जनाएको छ । मन्दिरका सबै क्षेत्रमा घुम्ती टोलीको समेत ब्यवस्था गरिएको थियो । पवित्र कालिगण्डकी नदी किनारमाथिको ९ रोपनी क्षेत्रफलमा विशाल चक्रशिलामा फैलिएको गलेश्वर शिवालयमा पुजापाठ गर्न भक्तजनको शुक्रबार रातीसम्म भक्तजनहरु आउने पण्डित भिमनाथ पराजुलीले बताउनुभयो ।

उहाँका अनुसार महाशिवरात्रीमा महाबत्ती बाल्नका लागि करिव २ देखी ३ सयको हाराहारीमा महिलाहरु रातभर पुजाआजामा ब्यस्त हुने भएकाले पनि दिउँसो देखी मन्दिरमा अत्याधिक भिड हुन्छ । शिवरात्रीलाई सबै प्रकारका दुःख र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको वास गराउने शिवको अति प्यारो दिनका रूपमा लिइने प्रचलन समेत रहेको छ ।

भक्तजनले दिन शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दुध, धतुरो, र बेलपत्र चढाउने गर्छन् । यसैगरी शिवरात्री पर्वकै अवसरमा सदरमुकाम बेनीमा रहेको बेनी शिवालय मन्दिरमा पनि भक्तजनहरुको भीड लागेको छ । शिव उत्पत्ति भएको रातको नामले चिनिने शिवरात्री पर्व हरेक वर्षको फागनु कृष्ण चतुर्दशीका दिन मनाइने चलन रहेको छ ।

कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रुपमा शिवरात्रीको दिनलाई पुराणमा उल्लेख गरिएको छ । शिवरात्रीलाई सबै प्रकारका दुःख र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको वास गराउने शिवको अति प्यारो दिनका रूपमा लिइने प्रचलन समेत रहेको छ । भक्तजनले आजको दिन शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दुध, धतुरो, र बेलपत्र चढाउने गर्छन् ।

विज्ञापन